अबको विकास प्रदेश २ मा केन्द्रित : दाहाल

रातोघर

 ११ मंसिर २०७६, बुधबार १०:४७  मा प्रकाशित

सिमरा। नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अबको विकास निर्माण प्रदेश २ मा केन्द्रित रहने बताएका छन् । राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न दबाब सिर्जना गर्ने उद्देश्यले नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार आयोजना गरेको बृहत् जनसभा कार्यक्रममा बोल्दै दाहालले प्रदेश २ को विकास निर्माणमा विशेष केन्द्रित रहेको बताएका हुन् । तराई मधेसका जनताको मतले आफू दोस्रोपटक प्रधानमन्त्री भएको सम्झना गर्दै उनले यहाँका जनतासंग विशेष प्रेम रहेको बताए ।

‘मैले भन्दै आएको छु , यहाँका जनतासँग मेरो विशेष लभ परेको छ, मेरो लभरलाई दुःख दिने र विकास निर्माणको कामलाई गति नदिने जो कोहीको विरुद्ध म यहीँ आएर आन्दोलन गर्न तयार छु,’ उनले भने, ‘निर्माणको काम गर्ने केही ठेकेदारहरूको कारण अपजस खेप्नुपरिरहेको छ, अब त्यस्ता ठेकेदारले द्रुतगतिमा काम गरेनन् भने म आफैं अनशन बसेर भए पनि प्रदेश २ को समुन्नतिमा लाग्छु ।’

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले तराई मधेसका जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै यो प्रक्रियामा अवरोध आउन नदिने बताए ।

उनले अब प्रदेश २ को विकास निर्माण अघि बढिसकेको जिकिर गर्दै तराईको समृद्धि अभियानमा नेकपाको ठूलो भूमिका रहेको बताए । उनले अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई समेत अब तीव्र गतिमा अघि बढाउने बताउँदै दु्रतमार्ग र अन्र्तराष्ट्रिय विमानस्थलको निर्माणपछि तराई मधेस काठमाडौसँग जोडिने बताए ।

सभामा चितवन हुँदै बाराको निजगढ आएका प्रचण्डसहित, नेकपाका महासचिव विष्णु पौडेल, वनमन्त्री, प्रदेश मन्त्रीहरू, जनप्रतिनिधिहरू, प्रदेश २ मा निर्माण थालिएको विभिन्न गौरवका योजनाका प्रमुखहरूलगायत बारा, पर्सा र रौतहटबाट करिब ५ हजारको संख्यामा मानिसहरू सभामा उपस्थित भएका थिए । ‘सरकार† मधेसको विकासले गति किन लिएन ?’

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले तराई मधेस क्षेत्रको विकासले गति लिन नसकेको गुनासो गरेका छन् । प्रदेश नम्बर २ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बाराको निजगढस्थित शहीद हीरालाल रंगशालामा नेकपा प्रदेश नम्बर २ कमिटीद्वारा मंगलबार आयोजित बृहत्् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित उपस्थित अतिथिमाथि प्रश्नको वर्षा गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।

निरंकुश शासन व्यवस्थाविरुद्ध लामो समय संघर्षमा बिताएको जनताको प्रतिनिधिका रूपमा आफू उपस्थित भएको बताउँदै अध्यक्ष साहले प्रदेश नम्बर २ को विकास तथा समृद्धिका लागि सरकारले गरिरहेको कामको हिसाबकिताब माग गरेका छन् ।

‘हामी पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललगायत उपस्तिथ मन्त्रीज्यूलाई सोध्न चाहन्छु कि यस प्रदेशको विकासका लागि हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले के गर्दै छ ?’ अध्यक्ष साहले भने, ‘विकासको सम्भाव नै सम्भावना भएको यस प्रदेशमा जारी राष्ट्रिय गौरवको आयोजनाहरूले किन गति लिन सकेको छैन ? हामी जवाफ चाहन्छौं ।’

नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले कार्यक्रममा सहभागी शीर्ष नेताहरूसँग यस्तो प्रश्न गरेपछि सहभागीले ताली बजाउँदै तथा हुटिङ गर्दै उपस्थित हजारौं प्रदेशवासीले समर्थन जनाएका थिए ।

एक राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रिय महŒवका कार्यक्रम र आयोजनाको नाम तोकेर अध्यक्ष साहले हिसाबकिताब खोजेका हुन् । उनको प्रश्न थियो, ‘फास्ट ट्र्याकमा हामी प्रदेशवासी कहिले यात्रा गर्ने, कुरा मात्रै सुन्ने कि पूरा पनि हुने हो म उपप्रधानमन्त्री ईश्वर पोखरललाई सोध्न चाहन्छु ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट हामी प्लेन चढ्ने पनि हो कि कथा मात्र सुन्ने हो ? हुलाकी सडकलाई १२ मिटरमा खुम्च्याएर मधेस विकासको कस्तो सपना देखाउनुभएको हो हामीले बुझ्न सकेका छैनौं । कम्तीमा ५० मिटर सडकसीमामा निर्माण गर्ने होइन भने हुलाकी सडक बनाउनुको के नै अर्थ हुन्छ र ? म सोध्न चाहन्छु । हामी जनताले के गर्नुपर्छ हामी सबै गर्न तयार छौं तर हाम्रा सबै आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुप¥यो ।’

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य तथा प्रदेश अध्यक्ष प्रभु साहको अध्यक्षतामा आयोजित जनसभामा महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री रामेश्वर यादव, प्रदेश पदाधिकारीसहित सयौं नेताको उपस्थिति रहेको थियो । ५० हजारभन्दा बढी जनतालाई उपस्थित गराएर सत्तारूढ दलकै प्रदेश कमिटीले सरकारमाथि दबाब सिर्जना गरेको यो पहिलो कार्यक्रम हो

Write your Comment