

२७ वर्ष अघिदेखि बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना बने पनि अहिलेसम्म काम नै सुरु हुन सकेको छैन ।
विमानस्थलको लागि लगानी भन्दा पनि वातावरणीय मुद्दाले बहस चर्काएको छ । सम्भाव्यता अध्ययन गर्दा निजगढ विमानस्थलको लागि ८ हजार हेक्टर क्षेत्रको कल्पना गरियो र त्यहाँ २५ लाख रुख रहेको भेटियो । वातावरणविद्हरुले विमानस्थलको नाममा आउने २५ लाख रुख नै काट्न लागिएको भन्दै विरोध जनाएका छन् । तर विमानस्थल आयोजनाले भने थोरै मात्रै रुख काटिने र काटिएका रुखको १० गुणा रुख हुर्काउने जनाएको छ ।
पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढमा जस्तो ठाउँ नेपालमा अन्यत्र नभएको सरकारी दाबी छ । निजगढ विमानस्थले नेपालको अर्थतन्त्रलाई नै कायापलट गर्न सक्ने सरकारी अनुमान छ ।
तर सर्वोच्च अदालतले एउटा मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै अर्को आदेश नभएसम्म काम अघि नबढाउन भनेको छ र सम्बन्धितलाई छलफलको लागि बोलाएको छ । निजगढमै किन अन्तर्राष्ट्रिय विमानस्थल किन बनाउनुपर्यो भन्ने विषयमा अर्जुन पोख्रेलले नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदीप अधिकारीसँग गरेको कुराकानी :
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनास्थलमा के काम भैरहेको छ ?
कुनै आयोजना निर्माण सुरु गर्नुअघि केही कामहरु गर्नुपर्छ । नेपालको सार्वजनिक खरिद ऐनले कुनै पनि आयोजनाको ठेक्का लगाउनुपूर्व जग्गा अधिग्रहण गर्नुपर्ने, वातारणीय प्रभाव अध्ययन गर्नुपर्ने, साइट क्लियर गर्नुपर्ने लगायतका काम गर्नुपर्ने भनेर तोकेको छ ।
जग्गा र वातावरणको कारण पछि विवाद नहोस् भनेर नै खरिद ऐनले यो व्यवस्था गरेको हो । खरिद ऐनको प्रावधानअनुसार अहिलेसम्म हामीले निजगढमा काम गरिरहेका छौं । अहिलेसम्म निजगढमा वातावरणीय प्रभाव मूल्याङन ईआईए र जग्गा अधिग्रहणको काम पनि सकिसकेका छौं ।
नेपाल सरकारले घोषणा गरेको विमानस्थलको ८ हजार हेक्टर क्षेत्र वरपर तारबार लगाउने काम पनि हामीले सम्पन्न गरिसकेका छौं । पश्चिममा पसाहा नदीले सधैं दु:ख दिइरहन्थ्यो, त्यसलाई पनि हामीले ८ किलोमिटर लामो क्षेत्रमा तारजाली लगाएर व्यवस्थित गरिसकेका छौं ।
जंगलका लागि पनि कति रुख काट्ने लगभग हामीले टुंग्याउन थालेका छौं । रुखको विषय अहिले वन तथा वातावरण मन्त्रालयमा छ, मन्त्रिपरिषदले त्यसलाई स्वीकृत गरेपछि कटानको काम सुरु हुन्छ । अहिले हामीले पूर्व तयारीको काम गरिरहेका छौं ।
लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्विजरल्याण्डको जुरिच एअरपोर्टसँग प्रारम्भिक समझदारी गरेको छ, जुरिचले तपाइँहरुसँग कुराकानी थाल्यो ?
लगानी बोर्डले जुरिचसँग प्रस्ताव माग गरेको हो । उसले नै बनाउने भनेर अन्तिम समझदारी भएको होइन । तर यसको पुरै छिनोफानो हुन पनि ७/७ महिना लाग्न सक्छ । त्यही बीचमा हामीले साइट क्लियरेन्सका सबै काम पूरा गरिसक्नुपर्छ । अनि अर्को कुरा जुरिचले नबनाए पनि निजगढ त नेपाल सरकार आफैंले भए पनि बनाउने भनेकै छ । निर्माणको लागि साइट क्लियरेन्स त हुनै पर्यो नि । त्यसैले हामीले निर्माण थाल्नुअघिका काम सक्नुपर्छ, र सक्न थालेका छौं ।
निजगढमा रुखको विवाद र बहस चर्किँदै गएको छ । ८ हजार हेक्टर क्षेत्रकै २५ लाख रुख काट्नुपर्ने भन्ने हल्ला पनि चल्यो, तर तपाईँहरुले खण्डन गर्नुभयो । गएको वर्ष संसदीय समितिले स्थलगत अध्ययन गरेर बढीमा ५ लाख रुख काटे पुग्ने भन्यो । काट्नुपर्ने रुखको संख्या कति हो
निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल नबनाइ नहुने भएकाले हामीले यो ठाउँ छानेका हौं । वतावरणीय हिसाबले सबैभन्दा कम क्षति हुने ठाउँ निजगढ नै हो । यहाँ जम्मा १४ सय घरधुरीको व्यवस्थापन गरे पुग्छ । संसारमा यस्तो ठाउँ कतै पनि छैन, जहाँ १४ सय परिवार मात्रै विस्थापित हुँदा पूर्ण क्षमताको विमानस्थल बनोस् ।
संसारकै सबैभन्दा ठूलो जहाज बोइङ ७७७ सिरिज वा एअरबस ३८० यहाँ बस्न सक्छन् । यस्तो ठूलो विमानस्थल हाम्रोमा त सबैभन्दा कम वातावरणीय क्षतिमा सम्पन्न हुँदैछ ।
अनि रुखको खुब धेरै बहस भैरहेको छ । हामीले रुख मात्रै पाल्ने हो त ? वातावरण वातावरण भन्दा हामी नागरिकका अधिकार छाड्ने त ? विकास नै रोक्ने त ? हामीले त जति रुख काटिन्छ, त्यसको १० गुणा धेरै रुख प्रदेश २ मै रोपेर हुर्काउने भनेका छौं । एकथरीले सरकारलाई विश्वास नै नगरेर एकोहोरो रुखको गीत गाउने अनि हामी र हाम्रा सन्ततिले विदेशको विकास हेरेर थुक निल्ने मात्रै हो ?
हाम्रा सन्तानको लागि निजगढमा संसारकै उत्कृष्ट विमानस्थल छाडेर जाने कि बुढा रुख मात्रै राखिदिने ? अहिले देशको जीडीपीमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्न सक्ने र देशको अर्थतन्त्रलाई कायापलट गर्न सक्ने एउटा परियोजना छ त ? मलाई लाग्छ छैन । तर निजगढ यस्तो एउटा परियोजना हो, जुन देशको आर्थिक, सामाजिक विकासमा रोलमोडल हुन सक्छ ।
भनेपछि निजगढमा रुखको बारेमा हल्ला धेरै भएको हो ?
सरकारलाई चाहिँ रुख नचाहिएकै जस्तो गरेर यहाँ केही वातारवरणविद्हरुले हल्ला गरिरहेको सुनिन्छ । हामीलाई रुख चाहिन्न र ? के हामी श्वास नफेरी बाँच्न सक्छौं त ? श्वास त हामीले पनि फेर्नुपर्छ नि ।
अन्धाधुन्ध रुख काट्नलाई हामी चाहिँ वातावरण विरोधी हो ? निजगढ विमानस्थल आयोजनामा रुखको विषयलाई उचालेर केही स्वार्थ पूरा गर्ने प्रयास भैरहेको छ । तर सरकारले देशको मुहार फेर्ने आयोजना रोक्न सक्दैन, रुख अन्यत्र रोपिन्छ, निजगढमा विमानस्थल निर्माणको अर्को विकल्प छैन ।
तपाईँहरुले निजगढको विकल्प नखोज्नुभएको कि विकल्प खोज्दा ठाउँ उपलब्ध नभएको ?
तपाईँले महत्वपूर्ण कुरा उठाउनुभयो । हामीले अन्त कतै अध्ययन नगरी एकोहोरो रटानकै भरमा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको होइन । हामीले नेपालका १० ठाउँमा पूर्व सम्भाव्यता अध्ययन गरेको हो ।
हामीले चितवनको शुक्रनगरमा पनि अध्ययन गरेको हो । त्यहाँ राष्ट्रिय निकुञ्ज नजिकै भयो, अर्को कुरा काठमाण्डौबाट चितवन पुग्न द्रुत मार्ग भएन, दूरी टाढा छ, निजगढमा जति हवाई क्षेत्र छ, त्यति हवाइ क्षेत्र नेपालको कुनै पनि ठाउँमा छैन । नागरिक उडड्यनको क्षेत्रमा काम गर्ने संसारका धेरै राम्रा विज्ञले पनि पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढ जस्तो राम्रो लोकेशन अन्त छैन भनेका छन् ।
वातावरणविद्हरुले रुखको संख्यालाई जोड दिएका छन् । लाखौँलाख रुख काटिने भनेर आलोचना पनि भएको छ ? संख्या चाहिँ कति हो ?
हामी संख्याको पछि किन लागिरहेका छौं मैले बुझ्न सकेको छैन । वातावरणीय प्रभाव मूल्यांकनले २५ लाख रुख काट्नुपर्छ भन्यो भनेर हल्ला भैरहेको छ, त्यो साँचो छैन । २५ लाख रुख त ८ हजार हेक्टर क्षेत्रफलका हुन् । तर विमानस्थल बन्ने त ८ हजार हेक्टर क्षेत्रफलमा होइन ।
८ हजार हेक्टर क्षेत्रफल विमानस्थलको नाममा मात्रै आउने हो, भोलि विमानस्थलको विस्तार गर्नुपर्ने हुन्छ, अन्य पर्यटकीय संरचना बनाउनुपर्ने हुन्छ । यस्तै यस्तै कामको लागि २५ लाख रुख भएको ८ हजार हेक्टर क्षेत्र विमानस्थलको नाममा मात्रै आएको हो ।
२५ लाख रुख काट्ने कुरा सरासर गलत हो । अहिले पोखरा, भरतपुर र काठमाण्डौमा जग्गाको लागि समस्या भयो, पहिलेनै विमानस्थलको नाममा जग्गा राखेको भए सहज हुन्थ्यो नि । हामीले भोली आउने समस्या कम गर्न विमानस्थलको नाममा जग्गा राखेको हो ।
यदि रुख मात्रै काट्ने नियत हुन्थ्यो भने त हामी उत्तरतिर लाग्थ्यौँ होला । तर अहिले हामीले दक्षिणतिरको क्षेत्रलाई प्राथमिकता दिएका छौं । त्यहाँ १२ सय बिघाजति जग्गा छ । बरु हामीले टाँगिया बस्ती सार्न थाल्यौँ, तर उत्तरतर्फका धेरै रुख नचलाउने भनेका छौं । हामीले त वन विनाश गर्ने भनेका छैनौं, गेम चेञ्चर आयोजना बनाउन खोजेको हो ।
तपाईँले गेम चेञ्चर आयोजना भनिरहनुभएको छ, निजगढ के कारणले गेम चेञ्जर आयोजना हो त ?
यो स्तरको आयोजना बन्दा प्रत्यक्ष रुपमा ५ लाख नागरिकले रोजगारी पाउँछन् । ५ लाख जनाले आयोजना बन्दाको बेला रोजगारी पाउँछन् । विमानस्थल सञ्चालनमा आएपछि १० हजार नागरिकले हरेक समय रोजगारी पाइरहेका हुनेछन् ।
अहिले नेपालमा वार्षिक ७२ लाख हवाई यात्रु छन् । तीमध्ये आन्तरिकतर्फ ४२ लाख र अन्तर्राष्ट्रियतर्फ ३० लाखको हाराहारीमा मात्रै यात्रु छन् । तर निजगढ विमानस्थलको एउटा मात्रै रन वे को क्षमता डेढ करोड यात्रुको हो । सबै गरेर वार्षिक ६ करोड यात्रु धान्न सक्छ । काठमाण्डौ, भैरहवा र पोखरामा ठूला जहाज जाँदैनन्, यसमा त संसारमा अहिलेसम्म बनेका सबै जहाज आउजाउ गर्न सक्छन् । ठूलाठूला कार्गो जहाज आउन सक्छन् ।
हाम्रा उडान पनि एक डेढ घन्टा छिटो हुन सक्छन् । हामीले हिमालय रुटको प्रयोग बढाएर थप आम्दानी गर्न सक्छौं । हामीले त आकाश बेचेरै पनि कमाउन सक्छौं नि ।
अहिले काठमाण्डौ आउने जहाज धेरैबेर आकाशमा होल्ड भैरहेका हुन्छन्, यसको समाधान पनि निजगढ विमानस्थल बन्न सक्छ ?
तपाईँलाई म एउटा नयाँ कुरा भन्न चाहान्छु । अहिले काठमाण्डौ आउने जहाज महिनामा ६ सय घन्टा होल्डमा बस्ने रहेछन् । एक महिनामा ६ सय घन्टा जहाज आकासमै घुम्दा त्यहाँ कति प्रदुषण भयो होला, कति खर्च बढ्यो होला अनि यात्रुको मानसिक अवस्था के भयो होला ? देशमा यस्ता समस्या छन्, हामी खाली रुख मात्रै भन्दै हिँडेका छौं । काटिने रुखको शोधभर्ना गर्नेमा त शंकै नगरे हुन्छ नि ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा छ । दुई वर्षपछि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार हुँदैछ । यति सानो देशमा त्यत्रो ठूलो जहाज किन चाहियो भन्ने बहस पनि चलेको छ नि ?
हो, हामीसँग छिटै ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल हुनेछन् । तर यी ३ वटै विमानस्थल पूर्ण क्षमताका अन्तर्राष्ट्रिय विमानस्थल होइनन् । यी तीनवटै विमानस्थल सीमितता नै सीमितताले घेरिएका छन् । काठमाण्डौमा कुहिरो लाग्यो भने जहाज बस्न सक्दैनन् । रन वे मा सामान्य समस्या देखिएमा पनि भारत डाइभर्ट हुनुपर्छ ।
पोखराको कुरा गर्दा झनै सानो विमानस्थल हो, भैरहवामा पनि पूर्ण क्षमताका जहाज आउजाउ गर्न सक्दैनन् । अहिले भएका विमानस्थल त प्रारम्भिक विमानस्थल मात्रै हुन् । हामीले निजगढमा विमानस्थल बनायौं भने मात्रै त्यो पूर्ण क्षमताको हुनेछ । वातावरणविद्हरुले पनि विदेशमा देख्नुभएको होला । ठूलाठूला विमानस्थल, नेपालमा पनि यस्तै विमानस्थल बनाउन पाए हुन्थ्यो भन्ने उहाँहरुलाई लाग्दैन होला कि !
हाम्रोमा यो विवाद बढिरहेको छ, विकास र वातावरणलाई कसरी मिलाउने होला त ?
हामीले रुख काटेर विकास गर्न हुन्न भनेर सुगा रटान लगाउन भएन । विकास र वातावरणलाई सन्तुलिन ढंगले अघि बढाउनुपर्यो । देशमा यति ठूलो आयोजना बन्दैछ, यसलाई त हरेक नेपालीले अपनत्व लिएर सहयोग गर्नुपर्छ । हामीले कतिपटक भन्ने काटिएका रुखको शोधभर्ना गर्छौं भनेर ।
सरकारलाई नै विश्वास नगरेर हल्ला गर्दै हिँड्न त भएन नि । देशमा विकास भएन भनेर लेख्दै/बोल्दै हिँड्ने अनि काम गर्ने बेलामा चाहिँ अवरोध सृजना गर्ने परम्परा हटाउनुपर्छ ।
सन्तुलित विकास कसरी हुन सक्छ भनेर बहस गरौं । तर विमानस्थल बन्नै हुन्न, रुख छुनै पाइन्न भनेर त समाधान निस्कन्न नि । यस्ता विषयमा विकास नै हुन दिन्नौं भन्न हुँदैन । मैले अघि नै भनिसकेँ, भोलिका सन्ततिलाई हामीले रुख मात्रै छाडेर जाने कि गर्व गर्न लायक केही परियोजना पनि बनाउने त ?
निजगढ छाडेर अरु खालि जग्गामा विमानस्थल बनाउनुपर्छ भनेर भैरहेका बहसमा औचित्य र गुदी छैन ?
यो विमानस्थलको बारेमा ४० वर्षदेखि अध्ययन भैरहेको छ । नागरिक उड्डनका क्षेत्रका कयौं विज्ञले अध्ययन गरे, निजगढको विकल्प देखेनन् । तर २०/२५ वर्षसम्म हुलाकमा र प्रशासनमा जागिर खाएका रिटायर्ड कर्मचारीले विमानस्थल यहाँ बनाउ र त्यहाँ नबनाउ भन्नु पटक्कै सुहाउने कुरा होइन ।
उनीहरुले अरुको विज्ञताको कदर गर्नुपर्छ । भावना आएर यता सारौं, अलि उता साराैँ भनेर यति ठूला आयोजनालाई उनीहरुले निकै हल्का रुपमा लिएका छन् ।
अन्तिममा, पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढ बाहेक ठाउँ छैन, तपाईँहरुले विकल्प पनि खोज्नुहुन्न ?
देशलाई अघि बढाउने हो र आर्थिक रुपमा कायापलट बनाउने हो भने यो भन्दा ठूलो र राम्रो अर्को प्रोजेक्ट छैन । देश सानो छ भनेर आयोजना पनि सानै बनाउनुपर्छ भन्ने छैन ।
तपाईँले १ किलोमिटर रन वे भएका विमानस्थलले के के योगदान दिएका छन्, सम्झनुस् त । सिमकोटमा १ किलोमिटर लामो रन वे हुँदैनथ्यो भने अहिले हुम्लाको सम्पर्क बाहिरी जिल्लासँग कसरी हुन्थ्यो ?
त्यस्तै हामीले निजगढमा ४ किलोमिटर लामो रन वे बनायौं भने त्यसले विश्व जोड्छ, । देशको नक्सासँग यसको मतलब छैन, विमानस्थल भनेको त विश्वव्यापी सञ्जाल बढाउने माध्यम हुन्
ujyaloonline.com





Write your Comment