

२५ वर्ष अगाडि प्रस्तावित बारा जिल्लाअन्तर्गत निजगढ अन्तराष्ट्रिय विमानस्थल,नेपालको पर्यटन क्षेत्रको उपयोग, विशौं लाख नेपाली जनतालाई प्रत्यक्ष–परोक्ष रोजगारी तथा नेपाली जनताको समृद्ध भविष्यका लागि कोशेढुंगा हो । यसको उपयुक्तता, औचित्यता र आवश्यकताको बारेमा विश्वसनीय तथ्य र आधार छन् । यो राष्ट्रिय महत्व र गौरवको आयोजना वहकिएको दलाली अभियानको शिकार त बन्ने होइन भन्ने आशंका पनि जन्मिएको छ ।
नेपालमा एकथरी मानिस छन् उनीहरुलाई नेपालको विकास हुन लाग्यो, नेपालको हितमा केही राम्रा काम हुन लाग्यो, नेपाली जनताको मुहार उज्यालो हुन लाग्यो भने तिलमिलाउँछन्, यत्रतत्र गिडगिडाउँछन् । अनि उनीहरु मूल विषयलाई विषयान्तर गर्न वातावरण लगायतका विषय उछाल्छन् । यस्ता तत्वले अरुण तेस्रो जस्तो आयोजना बिथोली दशकौंसम्म जलस्रोतको धनी देशका नेपाली जनतालाई अन्धाकारमा राखे ।
निजगढ विमानस्थल लगायत कुनै पनि आयोजनामा हुनसक्ने वातावरणीय क्षति र त्यसको परिपूर्ति गर्ने विषयमा खुल्ला बहस गरौं र नतिजा देखिने गरी वृक्षारोपण अभियान सञ्चालन गरौं । जे–जस्ता विषयमा छलफल गर्नुपर्छ, त्यसमा नेपाल र नेपाली जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखी वस्तुपरक ढंगले सकारात्मक आलेचनात्मक सोचका साथ अगाडि बढौं । यो वा त्यो बाहनामा विकास र समृद्धिलाई अवरुद्ध गर्ने काम कसैबाट पनि होस् ।
पृष्ठभूमि
०४९ साउन १६ का दिन थाई अन्तरराष्ट्रिय वायुसेवाको फलाइट–३११ विमान बैंककबाट काठमाडाैं आउँदा रसुवाको पहाडमा ठोक्कियो । चालक दलका १४ सदस्यसहित ९९ जना यात्रुको निधन भयो । यसैगरी ०४९ असोज १२ गते पाकिस्तान अन्तराष्ट्रिय वायुसेवा को ए ३०० एअरबस ललितपुरको भट्टेडाँडामा दुर्घटना भयो । सो जहाजमा यात्रारत १६७ जनाको निधन भयो । नेपालमा भएका यी दुई कहालीलाग्दा दुर्घटनाको कारण अन्तराष्ट्रिय जगतमा नेपाली हवाई आकाश असुरक्षित भएको सन्देश प्रवाह भयो । यसले गर्दा चारैतर्फ डाँडाले घेरिएको काठमाडौं त्रिभुवन विमानस्थल जोखिमपूर्ण छ भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पमा नयाँ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने स्थानको अध्ययन कार्य नेपाल सरकारले वि. सं. ०५१ मा थाल्यो ।
अध्ययनका क्रममा देशका विभिन्न आठ स्थान विराटनगर, जनकपुर, निजगढ, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीलाई सम्भावित स्थानका रुपमा पहिचान गरी स्थलगत प्राविधिक अध्ययन गरियो । सो अध्ययनबाट निजगढलाई उपयुक्त स्थान भएको भनी सिफारिस गरियो । त्रिभुवन विमानस्थलको क्षमता अभाव भएको कारणले यसको विकल्पमा निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । निजगढ विमानस्थल निर्माण आयोजना कसैको लहड नभएर देशको आवश्यकता हो ।
सरकारले यस आयोजनालाई राष्ट्रिय गौरवकै आयोजनामा समावेश गरेपछि ०७१ सालमा यो निर्माणको प्रक्रिया थाल्नसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० करोड बजेट छुट्यायो । त्यसपछि प्राधिकरणले यससम्बन्धी काम थाल्यो । विमानस्थल निर्माणकै शिलशिलामा सरकारले अहिलेसम्म तीन अर्ब खर्च गरिसकेको छ । वरिपरि काँडेतारसहित पहुँच मार्ग कार्यालय र त्यसका निम्ती जरूरी डिजाईन समेत सम्पन्न भइसकेको अवस्था छ । सरकारले आयोजना निर्माणका लागि स्वीट्जरल्याण्डको ज्युरिच इन्टरनेसनल एयरपोर्टलाई केही समयअघि छनोट गरिसकेको छ ।
वैकल्पिक विमानस्थलको खाँचो
अहिले त्रिभुवन विमानस्थललाई विस्तार गर्न असम्भव छ । तर, निजगढ विमानस्थालाई आवश्यक परेको अवस्थामा संसारकै सबैभन्दा ठूलो र क्षमतावान हुनसक्ने गरी विस्तार गर्न सकिने सम्भावना छ । यहाँ अन्तराष्ट्रिय मापदण्ड अनुसारको सिंगल रनवे, डबल रनवे तथा ट्रिपल रनवेसम्मको विमानस्थल निर्माणका लागि भविष्यमा कुनै समस्या पर्ने देखिँदैन । त्रिभुवन विमानस्थलमा डबल रनवे बनाउन नसकिएर अहिले पनि हाम्रो उडानमा डिले हुने र अवतरणमा होल्ड हुने गरेको पीडा सबैले भोगेका छौं ।
०७१ चैत्र १ गते २२४ यात्रु बोकेको टर्किस एअरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना भयो । केही दिन विमानस्थल नै बन्द गर्नुपर्यो । ०७४ चैत्र ८ गते यूएस–बंगलाको विमान अवतरणका क्रममा दुर्घटना हुँदा विमानस्थलको सेवा अवरुद्ध भयो । देशको राजधानीमा रहेको एकमात्र अन्तराष्ट्रिय विमानस्थल यसरी बन्द गर्नु पर्दा अन्तराष्ट्रिय जगतमा कस्तो सन्देश जाला ?
०७५ फागुन २१ गते चन्द्रगढीबाट काठमाडौँ आउँदा प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भयो । ०७६ असोेज २ गते बिहान कतारको दोहाबाट काठमाडौँ उडेको जहाज काठमाडौँको आकाशमा ३ घन्टाभन्दा बढी समय होल्ड हुनुपर्यो । असोज २६ गते काठमाडौं विमानस्थलमा अवतरण गर्न नपाउँदा नौवटा जहाज आकाशमै होल्ड भए । साउन २८ गते दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द भयो । एक्कासी ठूलो पानी परेकाले बिहान सवा १० बजेदेखि उडान र अवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जनायो । विमान अवतरण हुन नसकी आकाशमा विमान होल्ड गर्नु परेका यी केही उदाहरण हुन् । त्रिभुवन विमानस्थलमा एयर ट्राफिक जामको समस्या अहिले पनि छँदैछ ।
अहिले हामीसँग भएको काठमाडौं र निर्माणधीन भैरहवा तथा पोखराका विमानस्थल नेपालको पर्यटकीय भौगोलिक अवस्थिति तथा भूपरिवेष्ठित अवस्था अनुसार हाम्रा सबै आवश्यकता पूरा गर्ने प्रकृतिका पूर्ण क्षमताका विमानस्थल होइनन् । आइक्यापले निर्धारण गरेको सबै मापदण्ड, स्ट्यान्डर र रिकुमेन्डेसन पूरा गर्न निजगढजतिको उपयुक्त ठाउँ अरु कुनै छैन ।
कतिलाई लागेको हुन सक्छ कि नेपालमा त्रिभुवन विमानस्थलको सट्टामा कुनै वैकल्पिक विमानस्थल भए भइहाल्छ नि । तर, निजगढमा बनाउन लागिएको विमानस्थल नेपालको वैकल्पिक विमानस्थल होइन । यो त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थल भन्न सकिएला, तर यो यतिमा मात्र सीमित छैन । निजगढ विमानस्थल नेपालको समृद्धिको वाहक हो । यसले नेपालको पर्यटनको लागि नयाँ सम्भावनाको ढोका खोल्छ । यसका लागि नेपालले तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने तथा तेस्रो मुलुकबाट आयात गर्नु पर्ने वस्तुको लागि जल तथा स्थल मागबाट हुने खर्च दर भन्दा सस्तोमा वस्तुको आयात निर्यात गर्न सक्छ । नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको लागि यस्तो क्षमताको विमानस्थल न्यूनतम आवश्यकता हो । यो विमानस्थलको निर्माण पश्चात नेपालको भूपरिवेष्ठित हुनुको पिडा भोगाइमा पनि कमी आउँछ । भूपरिवेष्ठित हुनुको पीडाले हामीलाई अन्तर्राष्ट्रिय बजारमा उपस्थित हुने भरपर्दो हवाई कनेक्टिभिटी चाहिएको छ । यो आवश्यकता विमानस्थलको आकार, भौगोलिक अवस्थिति, भिजिविलिटीको कारणले काठमाडौं विमानस्थल हुन सकेन ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना मात्र नभई राष्ट्रिय समृद्धिको मूल आधार पनि हो । यसबाट देशले पर्यटन र रोजगारीको क्षेत्रमा अकल्पनीय फड्को मार्न सक्छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण भई पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यसबाट प्रत्यक्ष रुपमा कम्तीमा एकलाख र परोक्ष रुपमा २० लाख मानिसले रोजगारी प्राप्त गर्नेछन् भन्ने पर्यटन विज्ञहरुको दावी रहेको छ । यसका लागि भारत र चीन विशाल जनसंख्या भएको देशको बीचमा रहेको नेपालले पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य रुपमा बनाउनुपर्ने अवस्था छ । विश्वमा हवाई यात्रुको वृद्धिदर ७ प्रतिशतको हाराहारीमा छ भने यो वृद्धिदर नेपालमा १४ प्रतिशतको निकट छ । यसरी हेर्दा त्रिभुवन विमानस्थलले अबका केही वर्ष पछि यात्रुको भार थेग्न नसक्ने देखिन्छ । यसका लागि निजगढको विकल्प छैन ।
ठूला विमान र विमानस्थलले कार्गो ढुवानीको विकल्प दिँदैछन् भन्ने कुरा मात्र बुझ्न सकियो भने हामी भूपरिवेष्ठित हुनुको पीडाबाट मुक्त हुनका लागि तयार हुनेछौं । समुन्द्रबाट कार्गो ढुवानीको बिकल्प दिन करिव दुई दशक अघिदेखि अध्ययन भई रहेको छ । ठूला हवाईजहाज निर्माण कम्पनीले कम लागतमा धेरै लिफ्टिंग क्षमता भएका र दूरी छिटो पार गर्न सक्ने जहाज निर्माण गरिरहेका छन् । इथियोपिया, लाओस, हंगेरीजस्ता भूपरिवेष्ठित मुलुकले ठूला जहाजबाट कार्गो ओसार–पसारको तयारी थालिसकेका छन् । सन् २००७ मा बिश्व बैंकका अर्थशास्त्रीहरुले एउटा अध्ययन गरेका थिए । अफगानिस्तान, मध्य अफ्रिका, बुरुन्डीलगायत समुन्द्री बन्दरगाह नभएका १६ भूपरिवेष्ठित मुलुकमाथि गरिएको अध्ययनले ती मलुकमा निर्यात गरिएको तेल, खाद्यान्न अन्य बस्तुको मुल्य लगभग प्लेनवाट कार्गो गरिएको मूल्य बराबर पर्दथ्यो । बन्दरगाहबाट सामान निकाल्न पर्ने झन्झट, लामो समयको पर्खाइ, भन्सार झन्झटलगायतका समस्याको हिसाब गर्ने हो भने हवाई मार्ग भन्दा जलमार्ग तथा स्थलमार्ग अझ महंगो पर्ने उनीहरुको अध्ययनले देखाएको थियो । सीमामा हुने ढिलासुस्ती, ट्रक व्यवसायीको कार्टेलिंग, धेरै ठाउँमा चेकिङको झन्झट, बीचबीचमा घुस दिएर ट्रक छुटाउनु पर्ने समस्याले गर्दा आयातित सामानमा लागत मुल्य बढाएको देखियो । यसका साथै अध्ययनले भूपरिवेष्ठित मुलुकले निर्यातमा ठूलो कष्ट ब्यहोर्नु परेको अध्ययनले देखाएको छ ।
विमानस्थल निर्माणका चुनौती
मुलुकमा ठूला भौतिक संरचना निर्माणको लागि लगानी महत्वपूर्ण विषय हो र वाधक पनि हो । ठूलो संरचना निर्माणका लागि लगानी जुटाउन कठीन हुन्छ । कतिपय राष्ट्रिय महत्व र गौरवका आयोजनाहरु सपनामा नै सीमित हुन्छन् । निजगढ विमानस्थल पनि राष्ट्रको समृद्धिका लागि कोशेढुंगा सावित हुने आयोजना हो । यसका लागि पनि लगानी मुख्य समस्या हुनुपर्ने हो । तर, त्यसो नभई समस्या अरु नै देखा परेका छन् । यी समस्याहरुलाई स्वभाविक र अस्वभाविक समस्याका रुपमा विभाजन गरी हेर्न सकिन्छ ।
रबिराज दंगाल





Write your Comment