सर्वाेच्चले निजगढ विमानस्थलको काम अगाडि नबढाउन निर्देशन दिनुकाे कारण यस्ताे छ

रातोघर

 २०७६ पौष ७, सोमबार  मा प्रकाशित
३४५ पाठक संख्या


काठमाडौं

 

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण विवादमा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीशकुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

विमानस्थलको काम रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले २४ भदौमा रिट दर्ता गरेका थिए । त्यस्तै, सर्वोच्चमा परेको दोस्रो रिटमा निजगढ वन संरक्षण समितिका तर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी, रन्जुहजुर पाँडे र भरत बस्नेतले रिट दायर गरेका थिए ।

सो रिटमा सर्वोच्चका न्यायाधीश २० मंसिरमा टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै यथास्थितिमा राख्न भनेको थियो ।
यसअघि भएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै प्रधानन्ययाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आदेश जारी
गरेको हो ।

पूर्वसचिव ढुंगेलसहितको रिटमा आदेश जारी भए पनि वरिष्ठ अधिवक्ता प्र्रकाशमणि शर्माको रिटमा भने सुनुवाइ हुन सकेन । शर्मालगायत कानुन व्यवसायीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा वन तथा भूसंरक्षण, वातावरण र निकुञ्ज विभागलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले रिटमा पुरानो ईआईए प्रतिवेदन खारेज गरी फेरि ईआईए गर्नुपर्ने जिकिर गरेका छन् । सो रिटमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २४ कात्तिकमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अदालतमा पेस गर्न सरकारको नाममा आदेश दिएको थियो ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहिलो चरणमा ७ लाख ६९ हजार रूख काट्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्णय गरेसँगै वरिष्ठ अधिवक्ता शर्माले सोविरुद्ध रिट दिएका थिए । सरकारले ८० वर्ग किलोमिटर क्षेत्रफलमा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ईआईए २०७४ चैतमा वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरेको थियो । विमानस्थल निर्माण हुने स्थलमा रहेको जंगल फँडानीको विषयमा विरोध हुँदै आएको छ ।

११ हजार ८ सय ७५ बिघा क्षेत्रफलमा अधिकांश भाग वन क्षेत्र पर्छ । ईआईएअनुसार सो क्षेत्रमा ६ लाख ठूला सालका रूख (काठ) र १८ लाख अन्य साना रुख (कुकाठ) काट्नुपर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थल निर्माण हुने स्थलमा रहेको ११० बिघा जग्गामध्ये ५५ प्रतिशत जग्गाको मुआब्जा वितरण गरिसकेको जानकारी दिएको छ । साथै सो निर्माणस्थलमै पर्ने टागियाँ बस्ती स्थानान्तरणका लागि पनि योजना अगाडि सारेको छ ।

साथै, विमानस्थल निमार्ण हुने स्थलका रूख कटानी तथा पहुँच मार्ग निर्माणका लागि प्राधिकरणले नेपाली सेनासँग सम्झौता गरेको दुई वर्ष भइसकेको छ । सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा अघि सारिएको यस परियोजना निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेसनल एयरपोर्टलाई छनोट गरिसकेको छ । लगानी बोर्डले यो कम्पनीसँग विस्तृत प्रस्ताव मागेको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९९२ मा भएको थाई एयरवेज इन्टरनेसनलको एयरबस र त्यसको दुई महिनापछि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एयरबस ३०० विमान दुर्घटनापछि नेपाल सरकारले काठमाडौं उपत्यकाको विकल्पका रूपमा तराईमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको थियो ।
त्यही घोषणाअनुसार २६ वर्षअघि पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त स्थान पहिचान गर्न नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेज सेन्टर लिमिटेड (नेपिकोन)लाई जिम्मा दिइएको थियो । नेपिकोनले सन् १९९५ मा निजगढ क्षेत्रलाई भौगोलिक, प्राविधिक तथा आर्थिक सम्भाव्यताको दृष्टिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सर्वाधिक उपयुक्त रहेको प्रतिवेदन सरकारलाई दिएको थियो

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban