सिमराको सेन्ट जोन्सलाई ग्रासरुट लिगको उपाधि

रातोघर

 १२ पुष २०७६, शनिबार १८:५३  मा प्रकाशित

सिमरा, १२ पौष । 

बाराको सिमरा रङ्गशालामा पहिलोपटक सञ्चालन भएको यू १३ ग्रासरुट लिगको उपाधि सिमराको सेन्ट जोन्स इंगलिस स्कुलले जितेको छ ।

शनिवार भएको उपाधि भिडन्तमा डुमरवानाको राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदनलाई टाइव्रेकरमा पराजित गर्दै सेन्ट जोन्सले ग्रासरुट लिगको उपाधि जितेको हो । निर्धारित ४० मिनटको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइव्रेकरमा धकेलिएको थियो । टाइव्रेकरमा सेण्ट जोन्सले विभुतीलाई ३–२ ले हरायो ।

यस्तै शनिवारनै तेश्रो स्थानका लागि भएको खेलमा अक्षरा पाठशालाले सिमरा पव्लिक इंगलिस स्कुललाई १–० को अन्तरले पराजित गर्दै लिगको तेश्रो स्थानमा रहन सफल भयो ।

अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्यक्रम अन्तर्गत बारामा ग्रासरुटमा सहभागी १३ विद्यालयले प्रतियोगितामा भाग लिएको ग्रासरुट फुटबल कार्यक्रम बाराका संयोजक रामचन्द्र लामाले जानकारी दिनुभयो ।

गत कार्तिक ३० बाट शुरु भएको ग्रासरुट लिगको विजेता, उपविजेता तथा तेश्रो स्थान प्राप्त गर्न सफल विद्यालयका खेलाडीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, बाराका फुटबल अभियन्ता शम्भुसिंह ठकुरी, सियाराम कुमर, शंकर थापा, राजदास श्रेष्ठ लगायत विभिन्न वडा अध्यक्षहरुले शिल्ड मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

१५ महिना अघिबाट सिमरा रङ्गशालामा जारी ग्रासरुट फुटबल कार्यक्रममा सहभागी विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि लिगको आयोजना गरिएको कार्यक्रमका संयोजक रामचन्द्र लामाले बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका भित्रका राष्ट्रिय विभुती, प्रोग्रेस एकेडेमी, शुभतारा, सेन्ट अल्फोन्सा, सिमरा पव्लिक, न्यु एकता, अक्षरा, सेन्ट पिटर्स, सेन्ट जोन्स, लोटस, व्राइटर, पाथिभरा र नोबेल एकाडेमी गरि १३ विद्यालयका २ सय ३४ विद्यार्थीले ग्रासरुट फुटबलमा प्रशिक्षण लिइरहेका छन् ।

विभिन्न जिल्लामा सञ्चालन गरेको कार्यक्रम मध्य बारामा नमुना कार्यक्रम सञ्चालन भएको भन्दै अघिल्लो बर्ष एन्फाले ग्रासरुट डे समेत सिमरा रङ्गशालामा मनाएको थियो ।

Write your Comment