बाराको डुमरवानामा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता हुने

रातोघर

 २० पुष २०७६, आईतवार १५:४२  मा प्रकाशित
३६० पाठक संख्या



सिमरा, १९ पुस ।
दोस्रो प्रदेश स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता बाराको डुमरवानामा यही पौष २८ र २९ गते हुने भएको छ । १४ बर्ष मुनिका विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई सहभागी गराएर प्रदेश नं. २ अन्तर्गत आठ जिल्लाका १२ ओटा विद्यालयले सो प्रतियोगितामा भाग लिने शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा प्रदेश नं. २ का संयोजक गुरुप्रसाद गौतमले बताउनु भएको छ ।
सिमरामा आयोजित पत्रकार सम्मेलनमा गौतमले आर्थिक व्यवस्थापन बाहेकका सबै तयारी पूरा भएको जानकारी दिनु भयो । खेलकुद पत्रकार संघ बाराका अध्यक्ष सुनिल गाउलेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा तेक्वान्दो संघ प्रदेश नं. २ का सचिव तथा आयोजक राष्ट्रिय विभुती तेक्वान्दो डोजाङका प्रमुख बिजय शाह ठकुरी, तेक्वान्दो संघ बाराका उपाध्यक्ष राजकुमार लामा, पत्रकार महासंघ बाराका सचिव गणेश रिजाल लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा प्रदेश सचिव ठकुरीले १४ बर्ष मुनिका करिब १७० जना खेलाडीले प्रतियोगितामा भाग लिने र २० केजी देखि ४२ केजीसम्मका बिभिन्न १४ तौल समूहमा प्रतियोगिता आयोजना गरिन लागेको बताउनु भएको छ ।
अनुमानित ५ लाख ५० हजार लागतमा हुन गईरहेको सो प्रतियोगिताको मुख्य आयोजक राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदन डुमरवाना र मुख्य प्रायोजक जीतपुरसिमरा उपमहानगरपालिका रहेको ठकुरीले बताउनु भयो । प्रतियोगिताको लागि २७ गते खेलाडीहरु आईपुग्ने र टाईसिट ड्र हुने, २८ गते उद्घाटन सहित प्रतियोगिता हुने र २९ गते प्रतियोगिता सहित समापन हुने कार्यक्रम रहेको र आर्थिक हिसाबमा खेलकुदलाई सहयोग गर्न सबैलाई अनुरोध समेत केन्द्रीय सदस्य गौतमले पत्रकार सम्मेलनमा गर्नु भएको थियो ।

Write your Comment