जीतपुरसिमरामा तीन महिनादेखी कार्यपालिका ठप्प

रातोघर

 २०७६ पौष २२, मंगलबार  मा प्रकाशित
४०४ पाठक संख्या


सिमरा ।

हरेक महिनाको दुइपटक बस्नुपर्ने जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठक तीन महिनादेखि ठप्प छ ।
विकास निर्माण लगायत नगर भित्रका महत्वपूर्ण निर्णय गर्न बनेको कार्यपालिकाको वैठक नबस्दा तीन महिना यता कुनैपनि निर्णय हुन नसकेको जनप्रतिनिधिहरुको भनाई छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७५ मा मेयरको निर्देशनमा प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिका वैठक आह्वान गर्नुपर्ने व्यवस्था छ । उपमहानगरका एक वडा अध्यक्षका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठक हरेक महिनाको दुइपटक बस्ने निर्णय समेत भएको छ तर गत कार्तिक १ गते यता वैठक बस्न नसकेको उपमहानगरपालिकाको वेभसाइटबाट पनि प्रष्ट देखिन्छ । १ कार्तिक मा बसेको त्रिचालिसौं वैठकको अन्तिम निर्णय पुस्तिका वेभसाइटमा राखिएको छ । ‘हरेक महिनाको ५ र २० गते कार्यपालिका बैठक बस्ने निर्णय भएको छ ।’ एक वडा अध्यक्षले भने ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुले नगर प्रमुखले वैठक नडाकेको आरोप लगाएपनि प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाँइ भने नगर प्रमुखको निर्देशनमा आँफूले मंसिरको दोश्रो बैठकका लागि समेत आह्वान गरेको जीकीर गर्छन । ‘पौषको पहिलो बैठक मात्र नडाकिएको हो, त्यस अघि वैठक आह्वान भएपनि गणपुरक संख्या नपुग्दा स्थगित भएको हो’ प्रमुख प्रशासकिय अधिकृत सेढाँइले भने ।

तर नगर कार्यपालिका सदस्य समेत रहेका जीतपुरसिमरा उपमहानगरपालिका १४ का वडा अध्यक्ष रामशरण बर्तौलाले नगर प्रमुखका कारण तीन महिना यता कार्यपालिका बैठक बस्न नसकेको बताए । बर्तौलाका अनुसार विभिन्न वहानामा नगर प्रमुख पौडेलले बैठक सारिरहेका छन् । ‘मेयर साबले थुप्रैपटक व्यस्तता देखाएर बैठक सारिसक्नु भो, तीन महिनादेखि यो श्रृंखला जारी छ’ वडा अध्यक्ष बर्तौलाले भने ।

यस्तै जीतपुरसिमरा उपमहानगरपालिका १८ का वडा अध्यक्ष अर्जुनप्रसाद दाहालले पनि मेयर साबको व्यस्तताकै कारण बैठक बस्न नसकेको बताए । ‘महिनाको दुइपटक बस्नुपर्ने बैठक मेयर साबको व्यस्तताका कारण कार्तिक देखि बस्न सकेको छैन’ वडा अध्यक्ष दाहालले भने ।

यस्तै वडा नम्बर १ का अध्यक्ष हिराबहादुर गुरुङले पनि नगर प्रमुखकै कारण कार्यपालिका बैठक बस्न नसकेको बताए । ४४ औं वैठक बस्नु अघि केहि वडा अध्यक्षहरुले नगर भित्र कार्यरत करारका कर्मचारीहरुको सेवा अवधि थप गरिएको विषयमा प्रश्न उठाएपनि नगर प्रमुखले जवाफ दिन नसकेको र सोहि समयदेखि कार्यपालिका वैठक बस्न नसकेको अध्यक्ष गुरुङको भनाई छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलसंग कार्यपालिका बैठक बस्न नसकेको विषयमा प्रतिकृया माग्न खोज्दा उनीसंग सम्पर्क स्थापित हुन सकेन ।
-headline

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban