बाराको कलैयामा सरसफाइ अभियान सुरु

रातोघर

 १३ माघ २०७६, सोमबार २१:२१  मा प्रकाशित
२१० पाठक संख्या



 

१३ माघ, वीरगञ्ज

तराई-मधेसमा बिहान बाक्लो हुस्सु लाग्ने क्रम रोकिएको छैन । जसले गर्दा बारा, पर्सा लगायत तराई-मधेसका जिल्लामा चिसो कायमै छ । सोमबार बिहानको चिसोमा बाराको सदरमुकाम कलैया भने एका एक तातिन पुग्यो ।

कलैया उपमहानगरपालिकाको सरसफाइका लागि सरोकारवाला तातेका हुन् । नगर प्रमुख राजेश राय यादव, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक विकासराज खनालसहितको टोली एकाबिहानै कलैया बजार क्षेत्रमा निस्किए ।

उनीहरुले नगर क्षेत्रको सरसफाइमा टोली परिचालन गर्नुको साथै सडक अतिक्रमण हटाएका छन् । त्यसका लागि नगर क्षेत्रमा ४ वटा टोली परिचालन गरिएको थियो ।

वडा नम्बर १, ४, ५ र ६ अन्तर्गत पर्ने बजार क्षेत्रमा सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा, राखिएका निर्माण सामाग्री हटाइएको कलैया उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । बाँसबाट बनाइएका टहरा टोलीले नै भत्काइ दिएको छ भने पक्की टहरा हटाउन अल्टिमेटम दिइएको छ ।

सर्वसाधरणलाई आवत जावतमा सहज बनाउन, कलैयालाई सुन्दर नगरको परिचय दिन नगर सरसफाइ अभियान सुरु गरिएको नगर प्रमुख राजेश राय यादवले जानकारी दिए ।

‘सडक क्षेत्र अतिक्रमण गरेर व्यापारीहरुले पसल लगाउने, निर्माण सामाग्री राख्ने, खाजा पसल थाप्ने गरेका थिए,’ नगर प्रमुख यादवले भने, ‘प्रहरी प्रशासनको सहयोगमा त्यसलाई हटाउन अभियान सुरु गरेका छौं ।’

कलैयालाई सरसफाइयुक्त सहर बनाउनका लागि प्लाष्टिक झोला निषेधका लागि समेत गृहकार्य भइरहेको उनले बताए ।

पुनः अतिक्रमण हुन नदिन अन्य निकायसँग समन्वय गरेर निरन्तर अनुगमन गर्ने तयारी नगरपालिकाले गरेको छ । टोलीले नगर क्षेत्रमा जथाभावी फालिएको फोहोर संकलन गर्नुको साथै आगामी दिनमा जथाभावी फोहोर नफाल्न चेतावनी समेत दिएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले पनि कलैयामा सरसफाइ अभियानलाई निरन्तर सञ्चालन गरिनुपर्ने देखिएको बताए ।

Write your Comment