

सिमरा ; देवघाटधामलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा बिकास गर्ने भन्दै अष्ठधातुबाट निर्माण गर्न लागीएको भगवान शिवको बिशाल मूर्तिका लागि सहयोग संकलनार्थ बारामा महायज्ञ सञ्चालन गरीने भएको छ ।
करिब साढे चार करोड रुपयाँको लागतमा निर्माण गर्न लागिएको सो अष्ठधातुको मूर्तिका लागि यस क्षेत्रबाट समेत सहयोग जुटाउने उद्देश्यले ‘अष्ठधातु संकलन तथा श्रीमद्भागवत धनधान्याञ्चल विराट ज्ञान महायज्ञ’ आयोजना गर्न लागिएको आयोजक देवघाटधाम संरक्षण प्रतिष्ठानले सिमरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष अम्बीका प्रसाद अधिकारीले आगामी माघ २४ गतेदेखी फागुन २ गते सम्म जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा बजार क्षेत्रमा महायज्ञ सञ्चालन गरीने जानकारी दिए ।
अष्ठधातुबाट निर्मित ३० फिट अग्लो शिवको मूर्ति एसियाकै नमुना भएको भन्दै प्रतिष्ठानका अध्यक्ष अधिकारीले बिशेषतः त्यसका लागि आवश्यक धातु र निर्माण रकम संकलनार्थ महायज्ञ गर्न लागीएको बताए । देवघाटमा निर्माणाधिन शिवमूर्तिलाई हरेक नेपालीको भावना र सहयोगसँग जोड्ने उद्देश्य राखेर देशैभर कार्यक्रम गर्ने योजना बनेको उनले सुनाए । अध्यक्ष अधिकारीका अनुसार प्रतिष्ठानले देशका बिभिन्न २४ जिल्लामा उपसमिती निर्वाण गरी सहयोग संकलन गरीरहेको छ ।
‘घरका पुराना धातु सहयोग गर्न सकिने’
कूल १४ हजार किलोग्राम धातु खर्च गरिने सो मूर्ति निर्माणका लागि सुन, चाँदी, तामा, पित्तल, ढलोट, चरेस, काँच र फलाम प्रयोग गरीनेछ ।
अध्यक्ष अधिकारीले प्रत्येक घरमा रहेको अष्टधातुका टुक्रा दान गरेर पुण्य प्राप्त गर्न भक्तजनलाई अपिल गरेका छन् ।
महायज्ञमा रु पाँच लाख दान गर्ने दातालाई संस्थापक सदस्य एवं संरक्षक र रु एक लाख दान गर्ने दातालाई संस्थापक सदस्य हुने प्रतिष्ठानले व्यवस्था गरेको जानकारी दिँदै उनले सङ्कलित धातुलाई प्रशोधन गरी शिव मूर्ति निर्माण गरिने लक्ष्य रहेको बताए । प्रतिव्यक्ति रु पाँच हजार आजीवन सदस्य शुल्क राखिएको सो प्रतिष्ठानमा हालसम्म आठ सय १५ सदस्य आबद्ध भएका छन् ।





Write your Comment