मधेसमा जंगलराज चलिरहेको छ : सिके राउत

रातोघर

 २८ माघ २०७६, मंगलवार २२:२२  मा प्रकाशित
२२९ पाठक संख्या



क्रान्ति शाह,वीरगन्ज|||जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले प्रदेश–२ मा भ्रष्टचारी र गुण्डाको जंगलराज रहेको आरोप लगाएका छन् ।

वीरगन्जमा मंगलबार जनमत पार्टीले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन्। ‘मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ’, उनले भने, ‘त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो।’

समाजवादी पार्टी र राजपाले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको आरोप उनको छ।
मधेसी जनताको रंगत र बलिदानीमा टेकेर मधेसी जनताकै भोट लिएर सत्तामा पुगेका समाजवादी र राजपाले अहिले सत्तामा पुगेपछि मधेसी जनतामाथि शोषण र दमन गरिहेको राउतले बताए।
मेचीदेखि महाकालीसम्मको २२ जिल्लाको धोती प्रदेश मधेसलाई यी दुई दलले सत्ताको स्वार्थमा टुक्रयाएर ८ जिल्लाको लङगौटी प्रदेश बनाएको सिके राउतले बताए।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री रहेका बेला उनको कार्यकालमा मन्त्रालयको ५६ अर्ब बजेटमध्ये २२ अर्बको भ्रष्टचार भएको लेखा परीक्षणको रिपोर्टले नै पुष्टि गरिसकेको भन्दै राउतले भने,‘उपेन्द्र र उनको पार्टीले भ्रष्टचारी, तस्कर बलात्कारी नेताको संरक्षण गर्दै आइरहेको छ ।’

मधेस आन्दोलन ताकामा मधेसी जनता मितेरी पुलमा नाकाबान्दी गरेर बसेका बेला मधेसी दलका नेताले नाकाबाट तस्करी गराएर अकुत सम्पति जोडेको आरोप पनि राउतले लगाए।

कांग्रेस , कम्युनिस्ट र मधेसी दललाई म्याद गुज्रिसकेको (डेट एक्स्पायर) पार्टीको संज्ञा दिँदै राउतले अब मधेस र मधेसीलाई दमन, शोषण र विभेदबाट मुक्ति दिलाउने एक मात्र विकल्प जनमत पार्टी नै रहेको जिकिर गरे ।

आमसभालाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खनाले समाजवादी र राजपा आतंकवादी र बलात्कारीको पार्टी भएको आरोप लगाए।

यी दुई दलले अहिलेसम्म आतंकवादी, बलात्कारी, भ्रष्टाचारी र तस्कर नेता मात्रै उत्पादन गर्दै आएको आरोप लगाउदै उनले उपेन्द्र यादवलाई कंश मामाको संज्ञा दिए।

‘मधेसीका कंश मामा उपेन्द्रजी अब सच्चिनुस् होइन भने तपाईंलाई तह लगाउन कृष्ण अवतारका रुपमा सिके राउत आइसकेका छन्’, उनले भने ।

annapurna post

Write your Comment