सिमरा ‘सेज’ अस्तव्यस्त

रातोघर

 १२ फाल्गुन २०७६, सोमबार २१:३६  मा प्रकाशित
२०३ पाठक संख्या



प्रकाश लम्साल ,बारा । सिमरा विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले पाँचओटा ब्लकमध्ये गार्मेन्ट प्रशोधन केन्द्रमा उद्योग स्थापना गर्न तयार गरेको ‘ए’ ब्लक अस्तव्यस्त बनेको छ ।

गत वैशाख १९ मा सेज प्राधिकरणले एक महिने म्याद दिएर सूचना प्रकाशित गरी गार्मेन्ट प्रशोधन क्षेत्रमा उद्योग स्थापना र सञ्चालन गर्न प्रस्ताव माग गरे पनि हालसम्म स्वदेशी, विदेशी कुनैपनि उद्योग नआएपछि सेज अस्तव्यस्त बनेको हो ।

तयारी पोसाक उद्योग, घरेलु तथा साना उद्योगलगायतका संघहरुसँग गरिएको अन्तरक्रियामा सरकारको भूमिका नै प्रष्ट नदेखिएपछि संघअन्तर्गतका उद्योगहरु अनिच्छुक रहेको बताइएको छ ।

यस आर्थिक क्षेत्रभित्रको ‘ए’ ब्लकमा १४६ विगाह क्षेत्रफलभित्र ६६ ओटा उद्योग स्थापना गर्न सकिने गरी गार्मेन्ट प्रशोधन केन्द्र बनाइएको हो ।

तयारी पोसाक उद्योग संघले यहाँ उद्योग स्थापना र सञ्चालनका लागि सूचना नगरिएको र आफूसँग सुझाव र सल्लाहसमेत नलिएका कारण उद्योग छिर्न नसकेको दाबी गर्दै आएको छ ।

प्रतिवर्गमिटर २० रुपैयाँ भाडा महँगो भएको भन्दै पाँच रुपैयाभन्दा बढी भाडा गार्मेन्ट उद्योगहरुले अहिले तिर्न सक्ने अवस्था नरहेको संघको भनाइ छ ।

सरकारले सेजमा उद्योग स्थापना गर्नेलाई ६ वर्षसम्म पूर्णरुपमा आयकर छुट दिनेछ । एक वर्षसम्म स्वदेशमा बिक्री गरिसकेपछि अर्को वर्षदेखि भने ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी सरकारले नेपालमा उत्पादित विभिन्न प्रकारका गार्मेन्टलाई १० वर्ष भन्सार छुट दिने घोषणा गरेको लाभ लिन उद्योगीलाई पहिलो प्राथमिकता दिइने सरकारी भनाइ छ ।

तर, यससम्बन्धी संघ र प्रदेशको नीति नै स्पष्ट नभएको उद्योगीको गुनासो रहँदै आएको छ ।

युरोप र अमेरिकामा नेपाली गार्मेन्टको ठूलो सम्भावना रहेकोले यहाँ अमेरिकी, भारतीय र बंगलादेशका लगानीकर्ता आकर्षित गर्न ती देशहरुमा ब्यापक सूचना प्रवाह गर्नुपर्ने विज्ञहरुको राय छ ।

प्राधिकरणले नीतिगत तथा व्यावहारिक व्यवस्था नगर्दा सिमरा सेज यतिबेला बेवारिसे बन्न पुगेको टिप्पणी छ, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिव पौडेलको ।

एक दशकअघि तत्कालीन उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेको सिमरा सेजमा प्रधानमन्त्री केपी ओलीले २०७४ चैत १८ मा गार्मेन्ट प्रशोधन क्षेत्रको शिलान्यास गरेका थिए ।

वीरगन्ज चिनी कारखाना लिमिटेडको सिमरास्थित औराहामा रहेको ८३३ विगाहा जग्गालाई पाँच ब्लकमा बाँडेर अहिले ब्लक ‘ए’मा पूर्वाधार निर्माण सम्पन्न भएको हो ।

Write your Comment