

बसन्त खतिवडा,
बारा, ०९ चैत । कोरोना भाइरसका कारण सर्वसाधारण उपभोक्ताले उपभोग्य बस्तु एवं ईन्धन लगायतका पदार्थको असुरक्षित भण्डारण नगर्न निगमले आग्रह गरेको छ ।
केही दिनदेखि नियमित भन्दा बढी ईन्धन खपत बढेपनि नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जले ईन्धनको अभाव नहुने स्पष्ट पारेको छ ।
केही दिनदेखि काठमाडाैं लगायत देशका मुख्य शहरहरुमा ईन्धनको खपत बढेको भन्दै निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न उपभोक्ताहरुलाई आग्रह समेत गरेको छ ।
‘कुनै पनि ईन्धन भण्डारण गरेर राख्ने बस्तु होइन । यसले जतिबेला पनि दुर्घटना निम्त्याउन सक्छ’, नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख भरत रेग्मीले भन्नुभयो, ‘हल्लाको पछि लागेर अनावश्यक र असुरक्षित रुपमा इन्धन भण्डारण नगर्न अनुरोध गर्दछु ।’
प्रमुख रेग्मीले निगमसँग भण्डारण क्षमता अनुसार इन्धन भण्डारण रहेको भन्दै पाइपलाइन मार्फत पर्याप्त मात्रामा डिजल आयत भइरहेकोले अभाव सिर्जना नहुने बताउनुभयो ।
‘हामीले हाम्रो मातहत बाहेक बाहिरका डिपोलाई समेत ईन्धन उपलव्ध गराईरहेका छौं’, रेग्मीले भन्नुभयो, ‘बजारमा ईन्धन अभाव भएको भन्ने हल्ला गलत हो ।’ ‘हामीसँग पर्याप्त मात्रामा ईन्धन छ, आत्तिनु पर्ने अवस्था छैन ।’
निगमसँग हाल २ करोड लिटर डिजल भण्डारण रहेको र सो डिजलले कम्तिमा १५ दिन धान्ने हुँदा अभाव नहुने जनाएको छ ।
पेट्रोल समेत निर्वाध आइरहेको हुँदा माग अनुसार नै आपूर्ति भइरहेकोले उपभोक्तालाई असुरक्षित भण्डारण नगरी सुरक्षित हुन निगमले आग्रह गरेको छ ।
पाइपमार्फत नियमित डिजल आइरहेकोले भैरहवा, काठमाडौं र विराटनगर डिपोलाई समेत अमलेखगञ्ज डिपो मार्फत पूर्णरुपमा आपूर्ति गरेकोले कुनै समस्या नहुने निगमले जनाएको छ ।
एलपीजी ग्याँस समेत अघिल्लो महिना भन्दा यस महिना ५ हजार टन बढी माग गरिएकोले ग्याँसमा समेत अभाव नहुने निगमले जनाएको छ ।





Write your Comment