

वसन्त खतिवडा,बारा
बाराको जीतपुर सिमरा उपमहानगरले कोरोना प्रभावितका लागि भन्दै बनाएको अस्थायी अस्पतालमा पीपीई नहुँदा सञ्चालनमा आउन सकेको छैन ।
७२ घण्टाभित्र तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको उक्त अस्थायी अस्पतालमा स्वास्थ्यकर्मीका लागि पीपीई नहुँदा अझै सञ्चालनमा आउन नसकेको हो ।
‘देशभर नै अभाव रहेकाले पीपीई माग गरिएको छ, भोलिसम्म आइपुग्ने आश्वासन पाएका छौं’ जीतपुरसिमराका नगरप्रमुख डा.कृष्ण पौडेलले बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरले हाल ५० बेडको क्वारेन्टाइन तयार गरिसकेको छ भने आइसोलेसनका लागि आवश्यक उपकरण एवं भौतिक पूर्वाधारको कमी रहेकोले एक दुई दिनमा सञ्चालनमा आउने उहाँको भनाइ छ ।
नगरले आवश्यक सहयोग पाएमा यही अस्थायी अस्पताललाई ५०० बेडसम्मको क्वारेन्टाइन र १०० बेडको आइसोलेशन बनाउन सकिने पनि नगरप्रमुख पौडेलले बताउनुभयो ।
निर्माण सम्पन्न भएको क्वारेन्टाईनको आजै नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदनकुमार उपाध्याय, नेपाली सेनाका चिकित्सकहरुले समेत अवलोकन गरी प्रदेश दुईकै उत्कृष्ट अस्पताल बनेको भन्दै अन्य स्थानीय तहले समेत यसबाट सिक्नुपर्ने सुझाव दिनुभयो ।
बारामा हालसम्म क्वारेन्टाइन नहुँदा वैदेशिक रोजगारीबाट फर्केका केही युवालाई बीरगञ्जमा राखिएको छ ।
News24





Write your Comment