

उदयपुरको कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्याक्ति शनिबार फरार भएका छन् ।
भारतको सिलगुढी हुँदै ताप्ली गाउँपालिकाका लागि हिँडेका २१ जना मध्ये ३८ वर्षीय कृतिमान मगरातीलाई अस्पतालको आइसोलेसन राखिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा ९९ डिग्री ज्वारो आएका मगरातीलाई १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले बताए। उनीसँगै आएका अन्य २० जनालाई बेलसोतस्थित क्वारेन्टाइनमा राखिएको छ।
अस्पतालको आइसोलेसनमा राखिएका मगराती बिहानको खाना खानुअघि नै झोला र मोबाइल बेडमै छोडेर भागेको सूचना अधिकारी राइनले बताए। सुरुमा ९९ डिग्री ज्वरो रहेका मगरातीको अवस्था पछिल्लो समय सामन्य हुँदै गएको राइनले बताए।
मगरातीलाई साथीहरुसँगै क्वाराइन्टेनमा जान माग गरिरहेको अस्पतालले जनाएको छ। सुरुमा साथीहरुसँगै क्वारेन्टाइनमा पठाइएकोमा त्यहाँ ज्वारो आएपछि उनलाई अस्पतालको आइसोलेसनमा ल्याएको हो।
अस्पतालबाट भागेका मगरातीको खोजी भइरहेको छ। उनी परिवार र क्वारेन्टाइनमा रहेको साथीको समेत सम्र्पकमा नगएको प्रहरीले जनाएको छ। भागेका मगरातीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरिक्षक प्रेमसागर केसीले बताए।
Kantipur.com





Write your Comment