आइसोलेसनमा मृत्यु भएका बाबुरामको डेरामा न छिमेकी छन्, न त आफन्त

रातोघर

 १७ चैत्र २०७६, सोमबार १०:१६  मा प्रकाशित
१४९ पाठक संख्या



बुटवल ।

बुटवलको धागो कारखानामा बनाइएको आइसोलेसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवार सैनामैना नगरपालिका–४ सिसौडाँडामा कृष्णप्रसाद ज्ञवालीको घरमा कोठा भाडामा लिएर बस्दै आएको छ ।

चैत ६ गते दुबईबाट नेपाल फर्केका थापाको आइतबार दिउँसो आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु भएकाे हुनसक्ने आशंका गरिएपछि थापाको शव आफन्तले अझै बुझेका छैनन् । संक्रमणको आशंकाकै कारण बाबुरामकी श्रीमती रितासमेत अहिले दुई छोराका साथ कोठामा एक्लै छिन् । न छिमेकी आएर सान्त्वना दिएका छन् न त आफन्त नै ।

श्रीमानलाई बढी विरामी भएको खबर सुनेर एम्बुलेन्स रिजर्भ गरेर आइसोलेसन अस्पताल पुगेकी रिताले बीच बाटोमै श्रीमान् नरहेको खवर पाइन् । श्रीमानको मृत्यु भएपछि उनले न लाश देख्न पाइन् न त छुन नै । उनी अस्पतालको बाहिर भक्कानी रहिन् ।

अस्पताल बाहिर साँझ अबेरसम्म एक्लै बसेकी रिता साँझ एम्बुलेन्स रिर्जभ गरेर घर फिर्ता पुगिन् । तर, घरमा न आफन्त नत छिमेकी थिए । कोरोनाको आशंका भएका कारण रिताको नजिक जानसमेत सबै डराएका छन् । घरधनी कृष्ण ज्ञवाली भन्छन्, ‘हामीले बाहिरबाटै कागती पानी दियौं, नआत्तिन भनेका छौं । अहिलेसम्म कोही पनि घरमा आउनु भएको छैन । हामीले नै सान्त्वना दिएका छौ ।’

एक बर्ष अघिदेखि ज्ञवालीको घरमा कोठा भाडामा बस्दै आएकी रिताको स्थायी घर रिब्दिकोट गाउँपालिका–५ हो ।

पतिवियोगमा रहेकी रिता केही बोल्न सक्दिनन् । मात्र भक्कानि रहन्छिन् । गत १३ चैत आइसोलेसन अस्पतालमा भर्ना भएका बावुराम ३ दिनपछि मृत्यु हुँदा समेत मृत्युको कारण खुल्न सकेको छैन ।

आशंकाकै भरमा परिवारले अझ ठूलो पीडा खेपिरहेको छ । स्थानियहरु समेत अस्पतालमा भर्ना भएको ३ दिन बित्दा समेत स्वाब परिक्षण गर्न नपाएको भन्दै सरकारको स्वास्थ्य सेवाप्रति प्रश्न समेत उठाइरहेका छन् ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार १३ गते बिहान स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको र मृतक बाबुराम १३ गते साँझ मात्र अस्पतालमा भर्ना भएका कारण १६ गते बिहान मात्र स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको बताएका छन् ।

हरेक दिन स्वाब परिक्षण पठाउँदा खर्च बढी लाग्ने भएकाले तीन–तीन दिनमा स्वाब परिक्षणका लागि काठमाडौं पठाइने गरिएको गैरजिम्मेवारी अभिव्यक्ति स्वास्थ्य निर्देशनालयका अधिकारीले दिँदै आएका छन् ।

स्वाबको रिपोर्ट आएपछि मात्र शव आफन्तलाई दिइने

आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका बाबुरामको शवको स्वाब रिपोर्ट आएपछि मात्र आफन्तको जिम्मामा लगाइने अस्पतालले जनाएको छ ।

आइसोलेसन अस्पताल बुटलका प्रमुख डा. सुर्दशन थापाले आइतबार नै शव आफन्तलाई दिन खोजे पनि कोही नआएपछि अब स्वाबको रिपोर्ट आएपछि मात्र शव जिम्मा लगाउने बताए ।

अहिले मृतक बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । उनको रिपोर्ट आउँन अझै २ दिन लाग्ने बताइएको छ ।

-shilapatra.co

Write your Comment