

सिमरा, १८ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न जीतपुरसिमरा उपमहानगरले नगर क्षेत्रमा किटनाशक औषधी ( सोडियम हाइपोक्लोराइट) छर्कन शुरुआत गरेको छ ।
उपमहानगरले बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ ।
जीतपुरसिमरा २ , स्थित कोरोनाको अस्थाई उपचार केन्द्रबाट शुरु गरिएको औषधी छर्कने अयिभान आज जीतपुरसिमरा उपमहानगरपालीकाका नगर प्रमुख डा. कृष्ण पौडेलले शुभारम्भ गरे । उनले पहेँलो (सुरक्षा) टोपी लगाएर सडकमा औषधी छर्किने कार्यको शुभारम्भ गरेका हुन् ।
कोरोना भाइरसको सङ्क्रमणलाई महानगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको र महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने प्रमुख पौडेलले बताए ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन उपमहानगरबासीसँग उनले आग्रह समेत गरे ।जारी लकडाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख पौडेलले नगरवासीसँग विशेष आग्रह गरे ।
पहिलो चरणमा २०० लिटर उक्त किटनासक औषधी ल्याइ छर्ने काम शुरु गरिएको र आवश्यकता अनुसार खरीदगरी मुख्य स्थानमा किटनासक औषधी छरिने उपमहानगर स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख गोबिन्द पुरीले आज सिमरा सहित अमलेखगन्ज, डुमरवान, जीतपुर लगाएतका सडक क्षेत्रमा औषधी छरिने जानकारी दिए ।
उपमहानगरले कोरोनाको सम्भावित सङ्क्रमण रोकथामका लागि सिमरा स्थित १०० बेड क्षमताको क्वारेन्टाइन अस्पताल समेत निर्माण गरेको छ ।
त्यसैगरि वैदेशिक रोजगारीबाट हालै फर्किएकाहरु नगरका सबै वडामा तथ्याङ्क सङ्कलन शुरु गरिएको समेत उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोष (५० लाख) स्थापना समेत गरिसकेको छ ।





Write your Comment