अस्पताल बन्द हुँदा कसरी घटे आर्यघाटमा शव ?

रातोघर

 २२ चैत्र २०७६, शनिबार १५:२५  मा प्रकाशित

 

पशुपति क्षेत्रमा काम गर्छु म । आजकल भक्तजनसँग खासै अन्तरक्रिया हुँदैन । भक्तजनको संख्या गन्न छाडेर आजकल शव गन्न थालेको छु । आज दिउँसो कार्यक्षेत्रमै हिँडिरहेका थियौँ ।

मेरा सहकर्मी कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भन्नुभयो – सचिवज्यू, यो बेलामा घाटमा शवहरु निकै नै कम आइरहेका छन्, यसको कारण के होला ? हो त है – हामी मनन् गर्न थाल्यौँ । ‘बढी शव आउने ठाउँ अस्पतालहरु बन्द नै छन्’, ‘अस्पतालमै धेरैको ज्यान जाने रहेछ कि क्या हो ?’ – हामीले ठट्टा गर्यौँ ।

मेरो मनमा यही कुरा खेल्न थाल्यो । कोरोना कहरका कारण चारैतिर बन्द छ । मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । सवारी साधन निकै कम छन् । मैले ट्राफिक प्रहरी महाशाखाका एसएसपी मेरा बन्धु भीम ढकाललाई फोन गरेँ ।
उहाँले दिनुभएको जानकारी अनुसार औसतमा देशभरमा दैनिक ७ जना र काठमाडौँ उपत्यकामा दैनिक १ जना व्यक्तिको सवारी दुर्घटनाका कारण मृत्यु हुँदो रहेछ ।

छैनन् मर्दाका मलामी, छन् लास तर सुनसान छ आर्यघाट

पशुपति क्षेत्रका आर्यघाट, भष्मेश्वर घाट र विद्युतीय शवदाहगृहमा गरी दैनिक २५ देखि ३५ शवहरु दहन हुन्छन् । तर अहिले दैनिक औसतमा १० देखि १५ वटा शवदहन गर्न ल्याइन्छन् । बाँकी संख्या खोइ त ? ल दुर्घटनाबाट मृत्यु हुने १ जना घटे । टाढाटाढाबाट ल्याउने पनि ल २ जना नै मानौँ । अरु खोइ त ?

मैले उपत्यकाका अन्य क्षेत्रमा साथीहरुलाई बुझ्न पठाएँ – तर त्यता पनि त्यस्तो कुनै अस्वाभाविक चाप देखिएन, बरु कम नै देखियो ।

कतै अस्पतालहरु बन्द भएकै कारण शवको संख्यामा कमी भएको त होइन ? यो प्रश्न मेरो मथिङ्गलमा नाचिरहेको छ । हामीले दायाँ खुट्टा भाँच्चिदा बायाँ खुट्टामा अपरेसन गर्ने प्रवृत्ति पनि देख्दै आएका छौँ । त्यस्तै कतिपय नीजि अस्पतालले मरिसकेका विरामीलाई कैयौँ दिनसम्म भेन्टिलेटरमा राखेर खर्च अत्यधिक गराउँछन् भन्ने आम जनताको गुनासो पनि सुन्दै आएकै छौँ ।

अहिले कतिपय नीजि अस्पतालहरु बन्दजस्तै छन् । मानिसहरु घरघरमै छन् । अस्पतालहरुले सामान्य रुघाखोकी र ज्वरोको समेत उपचार गर्न नमानेका समाचारहरु आइरहेका छन् । सहज अवस्था हुँदा एकठाउँमा गर्नुपर्ने अपरेशन अर्को ठाउँमा गरेर विरामी मार्ने अनि जबजब समस्या पर्छ तबतब भाग्ने अस्पताल किन चाहियो ? यो प्रश्नले पनि मेरो मन खल्बलाइरहेको छ ।

कोरोना कोषको पैसा हाम्लाई बाँड्न भन्दिनु ल

कतै हाम्रा अस्पतालहरु उपचारका नाममा प्रयोगस्थल त बनिरहेका छैनन् ? अनि उपचारका नाममा पैसा कमाउने थलोका रुपमा विकास भएका त छैनन् ? अल्पविकसित मुलुकहरुमा परीक्षण र प्रयोग गर्नका लागि औषधी पठाइन्छन् भन्ने पनि कतै कतै पढेकै हो । कतै हामी पनि त्यही प्रयोगका पात्र बनिरहेका त छैनौँ ? यी प्रश्नले त झन छट्पटी गराएको छ ।

हामीले हाम्रो पूर्वीय दर्शनले वकालत गरेका प्राकृतिक चिकित्सा पद्धतिहरु त कम नै प्रयोग गर्छौँ । अब त्यसलाई पुनः जगाउने हो कि ? विश्वका शक्तिशाली देशहरु नै औषधी उद्योगको प्रभावमा परिरहेको अवस्थामा अहिलेको कोरोना कहरबाट पाठ सिकेर हाम्रै पूर्वीय जीवनपद्धतिलाई जागृत गर्दै अगाडि बढ्ने हो कि ?

अस्पतालभन्दा बढी विद्यालयहरु नै खोल्ने हो कि ? अस्पतालहरु पूर्णरुपमा सरकारले नै चलाउने हो कि ? चिकित्सा शिक्षा लगायत अन्य शिक्षा क्षेत्र पनि पूर्णरुपले सरकारले नै चलाउने हो कि ! हाम्रो पूर्वीय दर्शन र पद्धति सिकाएर मानिसलाई प्राकृतिक रुपमै स्वस्थ राख्ने हो भने अस्पतालको आवश्यकता कम पर्दथ्यो कि ?

प्रश्नैप्रश्नका बीचमा रुमलिइरहेको छु । उत्तर मसँग छैन ।

Shilapatra.com

Write your Comment