बारामा सुरक्षा सतर्कता बढाईयो, झण्डै १४ सय सुरक्षाकर्मी परिचालन

रातोघर

 २३ चैत्र २०७६, आईतवार २०:४२  मा प्रकाशित
३३६ पाठक संख्या



 

सिमरा : भारतबाट बाराका बिभिन्न सिमानाका हुँदै लुकिछिपि हुने आवतजावत नरोकिएपछी प्रशासनले सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

भारतसँग जोडिएको कुल ६० किलोमिटर सिमा क्षेत्रमा स्थापना गरिएका सात वटा बोर्डर आउटपोष्ट ‘बिओपी’मा शनिबारदेखी एक सय को संख्यामा सशस्त्र प्रहरी थप गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपती, सशस्त्र प्रहरी उपरिक्षक दिगबिजय सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार सिमा क्षेत्रको सुरक्षार्थ मात्रै सशस्त्र प्रहरीले दुई सय ४० जनशक्ती परिचालन गरेको छ । बारामा सशस्त्र प्रहरीको कुल ६ सय २१ जनाको दरबन्दी रहेकोमा २४ दरबन्दी खालि रहेको र अन्य सबैलाई लकडाउन कार्यान्वयनका लागि परिचालन गरिएको उनले जानकारी दिए ।

१४ सय सुरक्षाकर्मी परिचालन
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछी सरकारले लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गराउने निर्णय गरेको छ ।

यससँगै बारामा पनि लकडाउन पुर्ण कार्यान्वयनका लागि जिल्लाभर झण्डै एक हजार चार सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भारतीय सिमा क्षेत्रमा दुई सय ४० सँगै सशस्त्र प्रहरीले पाँच सय ९७ जनशक्ती जिल्लाभर परिचालन गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयले आफ्नो सम्पुर्ण जनशक्ती लकडाउन कार्यान्वयनका लागि खटाएको छ । कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरिक्षक गौतम मिश्रका अनुसार कार्यालय मातहतका सम्पुर्ण सात सय ५० जनशक्ती जिल्लाका बिभिन्न स्थानमा खटिएका छन् । उनिहरुले नागरिक सचेतना, सुरक्षा ब्यवस्था र प्रभावकारी राहत वितरणमा भुमिका खेलिरहेको उनले बताए ।

त्यसैगरी लकडाउन अवज्ञा गरि चलाईएका सवारी नियन्त्रण तथा सचेतनाका लागि ट्राफिक प्रहरीको ४२ जनाको जनशक्ती जिल्लामा खटिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार बाराका बिभिन्न स्थानमा ४२ जना ट्राफिक प्रहरी खटाईएको छ ।

भारतसँगको खुला सिमानाका कारण चुनौती थपिएको भन्दै जिल्लामा थप ७० सुरक्षाकर्मी माग गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।

Write your Comment