बाबा ! कोरोना कहिले मर्छ ?

रातोघर

 ३० चैत्र २०७६, आईतवार ०९:४६  मा प्रकाशित

‘ड्याडी (बाबा) कोरोना कहिले सकिन्छ ?’, दिनको ३ पटक छोरीले सोध्ने प्रश्‍न हो । उत्तर त थाहा छैन तथापि दिने उत्तर हो- ‘भोलि-पर्सि ।’

दिनदिनै त्यसो भन्दा दिक्क लागेछ क्यारे ! हिजो छोरीको प्रतिप्रश्‍न पनि आयो- ‘भोलिपर्सि भनेको कहिले हो ?’ उत्तर के दिनु ? म चुपचाप ।

उत्तर थाहा होस् वा नहोस्, चुपचाप बस्न पाइँदैन । उनलाई जतिबेलासम्म अल्छी लाग्दैन- कुरा घुमाउन खोज्यो, त्यहीँ लगरे जोडिहाल्छिन् । अनि उत्तर हुन्छ- ‘भोलिको भोलि पर्सि, पर्सिको भोलि पर्सि ।’

यही भन्दै छोरीको बालसुलभ जिज्ञासा मेटाउने प्रयास गरेको ३ साता पुग्न लागेको छ । कोरोना सकिएपछि छोरीका लागि किनिदिने सामानको सूची लामो भइसकेको छ । उनी आफैँले गर्ने काममा हतारो छ । जाने ठाउँहरू पनि बढेका छन् ।

सबैभन्दा हतारो त उनलाई आफ्नो प्रि-स्कुलमा बिदाइमा हुने कार्यक्रममा भाग लिनु छ । कुन गीतमा नाच्न पाइने होला भन्ने कौतूहल छ । बाबाममीलाई सँगै लिएर आफू कार्यक्रममा जानु छ । त्यसपछिको अर्को हतारो नयाँ स्कुल जानु छ ।

छोरी ठूली भइन्, उनलाई कक्षा १ मा पढ्ने हतारो छ । कक्षा १ मा पढ्ने हतारोसँगै स्कुल ड्रेस कस्तो हो ? जामा कस्तो लगाउन पाइन्छ ? स्कुल गएपछि पाइने के-के हो, त्यो थाहा पाउन हतारो छ ।

मेडमले ‘डल्ली’ नभनेको भएर पनि उसलाई न्यास्रो लागेको छ । भन्छिन्, ‘म स्कुल गएर राम्रो पढेँ भने त मेडमले गुड डल्ली भन्दै गाला मुसार्नुहुन्छ होला ।’

नयाँ स्कुलमा गएर मेडमबाट प्रशंसा बटुल्न हतारो भएको छोरीलाई अन्य थुप्रै काम गर्न हतार भएको छ । उनलाई बबल किनेर फुरुरुरु पार्न रहर छ । खेलौना घोडा किनेर हटहट पार्न रहर लागेको छ । बिहान-बेलुका खेल्न थप खेलौना बेबी किन्न मन लागेको छ ।

दिनदिनै मलाई ‘यो किन्दिनु, ऊ किन्दिनु’ भन्छिन् । मैले भन्दा पहिले समाधान पनि उनैले दिन्छिन्, ‘तर, कोरोना सिद्धेपछि ।’

उनका रहर अरू पनि थुप्रै छन् । उनलाई फन पार्क जान रहर लागेको छ । साथीकहाँ जान रहर लागेको छ । घर जान रहर लागेको छ । दाइकोमा जान रहर लागेको छ । मामाघर जान मन लागेको छ । बाहिर गएर चिकेन मम खान मन लागेको छ । बेलुन किनेर ठूलो पारेर प्याट्ट फुटाउन मन लागेको छ । तर, आफैँ भन्छिन्, ‘कोरोना सिद्धेपछि ।’

अहिले कोरोना छ, बाहिर जानुहुँदैन भन्ने चेत त छोरीमा छ । सायद स्कुलबाटै पाएको ज्ञान होला उनको । स्कुलबाट आएर वा स्कुल जानुभन्दा पहिले खाली बाहिर नै निस्कनुपर्ने, बिदा भयो कि कसैकहाँ जानै पर्ने उनी अहिले आफैँ बाहिर निस्कनुहुँदैन भन्छिन् ।

अत्यावश्‍यक कामले हामी निसकनुपर्‍यो भने ‘कोरोना भएको बेला कहाँ जान लागेको ?’ भन्दै पिल्चे बोली लगाउँछिन् । तर, अरूले नजानेजस्तै उनले पनि जानेकी छैनन्- कोरोना कहिले सकिन्छ ?

पटक पटक उनको एउटै प्रश्‍न छ- ‘बाबा ! कहिले सकिन्छ कोरोना ?’ उत्तर थाहा छैन । मैले कसलाई सोधेर कहिले सकिन्छ, छोरीलाई भन्न सक्दिनँ ।

आज उनलाई लागेको यसको उत्तर पनि आफैँ भनिन् । उनलाई कोरोना मान्छे खाएर अगाउने प्राणी भन्ने लागेको रहेछ क्यारे !

‘हामी धेरै दिन बाहिर ननिस्केपछि ऊ भोकै हुन्छ र मर्छ अनि करोना सकिन्छ, हामी बाहिर जान पाइन्छ’, छोरीको अबोध अनुमान आयो ।

-यो सामग्री भागवत भट्टराईले शिलापत्र अनलााइनका लागी लेख्नुभएको हो ।

Write your Comment