स्थानीय तहको नौलो अभ्यास : एसईईको तयारीमा रहेका विद्यार्थीलाई अनलाइन कक्षा

रातोघर

 २०७७ बैशाख ६, शनिबार  मा प्रकाशित
२८४ पाठक संख्या


बुटवल ।

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सरकारले चैत ६ गतेदेखि गर्ने भनेको एसईई परीक्षा स्थगन गर्‍यो । चैत ५ गते साँझ सरकारले निर्णय गर्दै एसईई अर्को सूचना प्रकाशित नहुन्जेलका लागि स्थगन गरेको थियो ।

परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थी सरकारको निर्णयसँगै परीक्षा दिन पाएनन् । गाउँ-गाउँबाट परीक्षा केन्द्रसम्म आएका विद्यार्थी घर फर्किए । अहिले सवैले घरमै परीक्षाको तयारी गर्दै सरकारले आग्रह गरेको लकडाउन पालना गरिरहेका छन् । यस्तो अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमै रहेका विद्यार्थीलाई अनलाइन कक्षामार्फत पढाउन सुरु गरेको छ ।

कोरोना भाइरसका कारण एसईई परीक्षा रोकिएपछि पढेका कुरा नबिर्सिउन भनी नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको हो । नगरपालिकाले विषयविज्ञमार्फत दैनिक रूपमा कक्षा सञ्चालन गर्दै आएको छ । अंग्रेजी, गणित, विज्ञान, सामाजिक, कम्प्युटर, नेपाली विषय अनलाइनमार्फत पढाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरपालिकाबाट अपराह्न १ बजेदेखि ६ बजेसम्म अनलाइन कक्षा सुरु गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले शिक्षकहरुलाई अनलाइनबाट पढाउन तालिम दिएपछि नगरपालिकाबाटै अनलाइन कक्षा सुरु भइरहेको बताए । लकडाउनको समयमा घरभित्र रहेका विद्यार्थीलाई एसईईको तयारीमा थप टेवा पुग्ने विश्वास नगरपालिकाको रहेको छ ।

लकडाउनका कारण विद्यालय पनि जान नपाएका र परीक्षा रोकिएर समय खेर फालिरहेको एसईईका परीक्षार्थीका लागि नगरपालिकाले अनलाइन कक्षा सुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए । शिक्षकले अनलाइनबाट पढाउने र विद्यार्थीले घरबाटै जुम एप, नगरपालिकाको फेसबुक र युट्युबबाट विषयवस्तुका बारेमा ज्ञान लिन सक्नेछन् । जुम एपमार्फत एक पटकमा ४० जना विद्यार्थीले शिक्षकसँग प्रश्नोत्तर गर्ने व्यवस्था मिलाइएको छ ।

सुरुवाती समयमा अनलाइनबाट कक्षा सञ्चालन गर्दा केही अप्ठयारो महसूस गरेका शिक्षक पनि अहिले सहज रूपमा कक्षा लिइरहेका छन् । नगरपालिकाले प्रतिविषय ४५ मिनेटका दरले पढाउने गरेको छ । अंग्रेजी विषयका शिक्षक चण्डीप्रसाद पाण्डेले २ दिन आइटी प्रशिक्षण लिएपछि अहिले निर्धक्क भएर पढाउन सकिएको बताए । विद्यार्थीसँग दोहोरो संवाद पनि हुने भएपछि नबुझेका कुरालाई विद्यार्थी बुझाउन सहज हुने गरेको उनको भनाई छ ।

अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । एपको मिटिङ आइडी ५३५४०५९६०८ र पासवर्ड १२३४५ छ । तिलोत्तमाका ५१ सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै २ हजार ७ सय विद्यार्थी एसईईको तयारीमा छन् । नगरपालिकाले जुम एपमार्फत अध्ययान गराउने र उक्त पढाइएको रेकर्ड फेसबुक र युट्युबबाट राख्नेसमेत गरेको छ ।

सैनामैनाले पनि अनलाइन कक्षा सञ्चालन

रुपन्देहीको सैनामैना नगरपालिकाले पनि अनलाईन कक्षा चैत २३ गतेदेखि सुरु गरेको छ । ९ वटा विद्यालयका शिक्षकले १३ वटा विद्यालयका विद्यार्थीलाई अनलाईनमार्फत गणित, विज्ञान, एकाउन्ट कक्षा सञ्चालन गरेको सैनामैना नगरपालिकाका आइटी पर्सन महेश अधिकारीले जानाकारी दिए । नगरपालिकाले जुम एपमार्फत समग्र विद्यार्थीका लागि पनि अनलाईन कक्षा सुरु गरेको छ ।

समग्र विद्यार्थीलाई एकैपटक पढाउँदा विद्यार्थीलाई चिन्न गाह्रो भएपछि विद्यालय–विद्यालयले समेत अनलाइनबाट कक्षा सञ्चालन गरिरहेको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले जानाकारी दिए । २ दिन अनलाइनमार्फत शिक्षकलाई पढाउन सिकाएपछि अहिले शिक्षकले पढाउन सुरु गरेका हुन् । सैनामैना नगरपालिकाबाट संस्थागत तथा सामुदायिक २० वटा विद्यालयका विद्यार्थीले एसईई दिँदै छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा पनि अनलाईन कक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले अनलाइनको माध्यमबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइनको माध्यामबाट कक्षा सञ्चालन गरिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आर्चायले जानकारी दिए ।

स्नातक र स्नाकोत्तर तह पढाइ हुने यस विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा समाजशास्त्र संकाय र विकास अध्ययन तथा एप्लाईड साईनस संकायको पढाइ हुने गर्दछ । विश्वविद्यालयका ७ वटा सम्बन्ध प्राप्त क्याम्पसमा १२ सय बढी  विद्यार्थीले अध्ययन गर्ने गरेको विश्वविद्यालयको तथ्याङले देखाउछ ।

बुटवलका केही विद्यालयले पनि सुरु गरे अनलाईन कक्षा

बुटवल-८ सुख्खानगरस्थित अक्सफोर्ड माविले एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरेर अनलाइन कक्षा सञ्चालन गरेको छ । विद्यालयबाट १ सय १० जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन । ‘अनलाइन एप्लिकेशन प्रयोग गरेर विषय शिक्षकले विद्यार्थीलाई पढाएका छन’ विद्यालयका प्राचार्य दिनेश भुसालले भने । विद्यार्थी लकडाउनको मारमा परेकोले आफूमा भएको कन्फ्युजनलाई सल्भ गर्न अनलाइन कक्षा चलाइएको प्राचार्य भुसालको भनाइ छ ।

-shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban