

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउनुपर्ने आवाज नागरिकस्तरबाट उठ्न थालेको छ । लकडाउनलाई एक महिनासम्म पूर्ण समर्थन गरेका नागरिकले लामो अवधिका कारण निसासिएको अनुभूति गर्दै यसलाई केही खुकुलो बनाउनुपर्ने माग गरेका हुन् ।
११ चैतदेखि सुरु भएको लकडाउनको अवधि १५ वैशाखसम्म जारी राखिएको छ । लकडाउनले संक्रमणको दर विस्तार हुनबाट रोक्न महŒवपूर्ण भूमिका खेलेको भए पनि आमनागरिकले असाधारण समस्या भोग्दै आइरहेका छन् । देशभरका नागरिक उकुसमुकुसमा छन् । ग्रामीणभन्दा सहरी क्षेत्र बढी आक्रान्त बनेको छ । चिकित्सकदेखि नागरिक समाजका अगुवाले समेत विकल्प खोज्न र लकडाउनलाई केही खुकुलो बनाउन सुझाव दिएका छन् ।
सरुवा रोगसम्बन्धी अनुसन्धान गर्दै आइरहेका चिकित्सक डा. रमेश आचार्यले विभिन्न उपाय अपनाएर लकडाउन केही खुकुलो बनाउन सकिने सुझाव सरकारलाई दिएका छन् । डा. आचार्यका अनुसार कोेरोना संक्रमण देखिएका देशभरिका प्रभावित तथा अप्रभावित जिल्ला वा स्थानलाई रेड, ग्रिन र एल्लो जोन गरी तीन भागमा विभाजन गरेर सोहीअनुसार लकडाउनलाई व्यवस्थित गर्न सकिन्छ । यसो गर्न सकिएमा देशभरमा एकैपटक लकडाउन गर्नुपर्ने अवस्था हुँदैन । जसअनुसार रेड जोनमा परेका जिल्लालाई पूर्ण रूपमा सिल गर्न सकिन्छ । एल्लो जोनमा परेका जिल्लामा यातायात, होटल, विद्यालय, सार्वजनिक स्थान, सपिङ मल, हाटबजार, सैलुन, स्पा, मसाज सेन्टर तथा ब्युटिपार्लर बन्द गरी हिँडडुल गर्न दिएर लकडाउनलाई थप व्यवस्थित बनाउन सकिने डा. आचार्यले बताए ।
– प्रभावका आधारमा तीन जोनमा विभाजन
– रेड जोनलाई सिल
– एलो र ग्रिन जोनमा सामान्य खुला
– १० जनासम्म यात्रु बोक्ने गरी सरकारी गाडी प्रयोग
– सामाजिक दूरी कायम गरी हिँडडुलमा खुला
– अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द
– नेपाल–भारत सीमा नाकामा थप कडाइ
यस्तै, ग्रिन जोनमा परेका जिल्लामा विद्यालय, सैलुन, ब्युटिपार्लर, डिस्को बार, पार्क, सिनेमा हल बन्द गरी मझौला होटल, कलकारखाना, तरकारी मालवाहक सवारीसाधन तथा यात्रु ओसारपसारका निम्ति प्रयोग गरिने छोटा दूरीका सार्वजनिक यातायातका साधान खुला गर्न सकिने देखिएको छ । बस, माइक्रो, टेम्पोमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्क र पन्जा लगाउनुपर्ने गरी नियम बनाउँदा उपयुक्त हुने डा. आचार्यको भनाइ छ । सम्पूर्ण यातायाताका साधनमा अनिवार्य रूपमा दिनमा एकपटक डिस इन्फेक्सन गर्नुपर्ने र डिस इन्फेक्सन नगरिएका सवारीसाधनमा रोक लगाउन सकिनेछ । सरकारका कर्मचारी हिँड्ने सरकारी गाडी तथा प्रहरी, सेनाका गाडीमार्फत एक लटमा १० जनासम्म यात्रु बोक्ने गरी काठमाडौं उपत्यकामा लकडाउनलाई सहज बनाउन सकिने डा. अचार्यले बताए ।
कोरोना लक्षण देखिएकाभन्दा नदेखिएकाबाट उच्च जोखिम र संक्रमण फैलिन सक्ने भएकाले लक्षण देखिएको समूह र नदेखिएको समूहको एप्स तयार गर्ने र नयाँ एप्समार्फत उनीहरूको नियमित अनुगमन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
अनुसन्धानकर्ता डा. आचार्यका अनुसार नेपाल र भारतको सिमानामा जोडिएका सम्पूर्ण जिल्ला र जिल्लाभित्रका गाउँपालिका कम्तीमा ३ देखि ५ महिनाका लागि बन्द गर्नुपर्छ भने भारतमा शून्य केस नतिजा आएको कम्तीमा ४० दिनपछि मात्र सिमाना खुलाउनुपर्छ । उनले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई अरू देशमा शून्य केस भएको ३० दिनपछि मात्रै खुलाउनुपर्ने सुझाव दिएका छन् । उनका अनुसार सबै जिल्लाका विद्यालय, विश्वविद्यालय, पार्क, होटल, सिनेमा घर, चर्च, मठ मन्दिर, मस्जिद, गुम्बा, सार्वजनिक स्थान, सपिङ मल, सुपरमार्केट हाट बजार, कपाल काट्ने सलुन, स्पा, मसाज सेन्टर तथा ब्युटिपार्लर, डिस्को बार तथा क्लब न्यूनतम ४५ दिनका लागि पूर्ण रूपमा बन्द गर्नुपर्छ ।





Write your Comment