

काठमाडौं ।
विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ ।
शनिबार ६ हजार बढीको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघेको हो ।
यो भाइरसबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा ५४ हजारले ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २ हजार ६५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै, इटालीमा २६ हजार, स्पेनमा करिब २३ हजार, फ्रान्समा साढे २२ हजार, बेलायतमा २० हजार, बेल्जियममा ७ हजार, इरान, जर्मनीमा समान साढे ५ हजार, ब्राजिल, नेदरल्याण्ड्समा ४/४ हजार, टर्कीमा २ हजार ७ सय, क्यानाडामा २ हजार ४ सय, स्वीडेनमा २ हजार बढीले कोरोनाबाट ज्यान गुमाएका छन् ।
दक्षिण एसियामा कोरोनाबाट सबैभन्दा बढी भारतमा ८२५, पाकिस्तानमा २६९, बंगलादेशमा १४०, अफगानिस्तानमा ४७, श्रीलंकामा ७ जनाको मृत्यु भएको छ ।
नेपाल, भुटान र माल्दिभ्समा भने हालसम्म यो भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छैन ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट हालसम्म विश्वका २१० देश प्रभावित भइसकेका छन् ।
आइतबार बिहानसम्म यो भाइरसबाट २९ लाख २० हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ८ लाख ३६ हजार विरामी उपचारपछि निको हुँदा २ लाख ३ हजारको ज्यान गएको छ ।
वर्ल्डोमीटरका अनुसार अहिले १८ लाख ८० हजार संक्रमतिको उपचार जारी छ । जसमध्ये १८ लाख २२ हजारको अवस्था सामान्य रहँदा ५८ हजार अर्थात् ३ प्रतिशत संक्रमितको अवस्था भने गम्भीर रहेको छ ।
-Shilapatra





Write your Comment