वामदेवसँग ओलीका ५ मजाक

प्रश्नः निशाना अगाडि लाग्ला कि पछाडि ?

रातोघर

 २०७७ बैशाख १८, बिहिबार  मा प्रकाशित
४१४ पाठक संख्या


काठमाडौं। अध्यादेश प्रकरणले ८ वैशाखबाट गिजोलिएको सत्तारुढ नेकपाको राजनीतिमा नयाँ मोड आएको छ । बुधबार साँझ बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि नेकपा समीकरणले नयाँ मोड लिएको हाे ।

यो प्रस्ताव नेकपामा गौतमबाहेक अरुलाई सामान्य हो । किनकि प्रधानमन्त्री ओलीको टाउको दुखाइ भैँसेपाटी गठबन्धन हो । उनको पहिलो प्रयास यो गठबन्धन तोड्नु हो, जुन प्रयास गत पुसदेखि जारी छ । तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म तोड्न सकेका छैनन् ।

संविधान बाधक

नेपालको संविधानमा नै प्रधानमन्त्री हुन संघीय संसदको सदस्य हुनुपर्छ । संघीय संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन । संविधानको धारा ७८ को उपधारा ४ को १ मा …तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने व्यवस्था छ ।

वामदेव बर्दिया–१ बाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका सञ्जय गौतमसँग पराजित नेता हुन् ।

गौतमका लागि पहिलो बाधक संविधान छ । संविधान संशोधन गर्न दुईतिहाइ बहुमत चाहिन्छ । जुन अहिलेको अवस्थामा नेकपासँग छैन । उसले संविधान संशोधन गर्न अन्य दलहरूको सहयोग माग्नुपर्ने हुन्छ ।

संविधान संशोधनको माग गर्दै सरकारमा सामेल भएका तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी आफ्नो माग पूरा नभएपछि सरकारबाट बाहिरिइसकेका छन् । प्रतिपक्षी दल कांग्रेस पनि १ व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनतर्फ लाग्ने कुनै निश्चित छैन ।

उनलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभाको सांसद बनाएर प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्न पनि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । जुन तत्काल सम्भव छैन । जबकि गौतमलाई राष्ट्रियसभामा लैजाने भैँसेपाटी गठबन्धनको निर्णयलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरिसकेका छन् ।

सचिवालयमा ओली प्रस्तावपछि यतिबेला अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपालसँगै झलनाथ खनाल कसरी अघि बढ्ने भन्नेमा अनिर्णित छन् । तर, गौतम भने नेपाली राजनीतिमा विशेष गरेर तत्कालीन एमाले र हालको नेकपावृत्तमा सधैँ नेताका ‘गोटी’का रूपमा मात्र प्रयोग हुँदै आएका छन् । र, यी सबै गोटीमा उनले धोका मात्रै खाइरहेका छन् ।

पहिलो धोका नवौँ महाधिवेशन

ओली–गौतम घनिष्ठता भने तत्कालीन एमालेको नवौँ महाधिवेशनबाट भएको हो । नवाैँ महाधिवेशनमा ओलीले आफूलाई अध्यक्षमा सहयोग गरे प्रधानमन्त्री बनेपछि कार्यकारी अध्यक्ष दिने वचन दिए ।

गौतमले पत्याएर सहयोग गरे । ओली अध्यक्ष भए । प्रधानमन्त्री पनि भए । तर, गौतमका लागि कार्यकारी अध्यक्ष ‘आकासको फल आँखा तरी मर’ भयो ।

दोस्रो धोका निर्वाचन

तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरे । निर्वाचनमा शीर्ष नेताहरू मात्र होइन, धेरै नेताहरूले जिते । तर, गौतम बर्दिया– १ बाट पराजित भए । उनी पराजित हुनुमा ओलीनिकट नेताहरूको हात रहेको आरोप गौतमले नै लगाउँदै आएका छन् ।

तेस्रो धोका उपचुनाव

उनले हार मानेनन् । उनी निर्वाचन भएको ६ महिनापछि उपनिर्वाचनबाट संसद प्रवेश गर्न चाहे । जसका लागि उनले एक वर्ष बिताए । गौतमले डोल्पादेखि काठमाडौँसम्म विभिन्न समयमा उपनिर्वाचनबाट सांसद हुने वातावरण मिलाए । तर, अन्तत: ओलीले नै सबै कुरा भाँडिदिए ।

गौतमले उपनिर्वाचनबाट सांसद हुने चाहना गरे पनि सफल भएनन् । भैँसेपाटी गठबन्धनले उनलाई राष्ट्रियसभामा जान सुझाव दिए । प्रधानमन्त्री हुने भए मात्र जाने अडान लिए ।

चौथो धोका राष्ट्रियसभा

उपनिर्वाचनमार्फत प्रतिनिधिसभाको सदस्य बन्ने चाहना पूरा नभएपछि उनका लागि नेकपा नेताहरूले सांसद बनाउने अर्को बाटो सुझाए । ओलीविनाको भैँसेपाटी गठबन्धनबाट राष्ट्रियसभामा आफ्नो पद अनुमोदन पनि गराए ।

१४ फागुन, २०७६ मा बसेको सचिवालय बैठकले वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय नै गर्‍याे । तर, प्रधानमन्त्री केपी ओलीले भैँसेपाटीबाट विकसित भएर सचिवालयमार्फत अनुमोदन भएको यो प्रस्तावलाई पनि ‘घाममा सुकाइदिए’पछि अहिलेसम्म यो चाहना पनि पूरा हुन सकेको छैन ।

पाँचौँ धोका खानै बाँकी !

ओलीबाट ४ वटा प्रकरणमा धोका खाइसकेका गौतमले केन्द्रीय कमिटीबाट उपाध्यक्षमा अनुमोदन हुन पाएपछि भने ओलीले दिएका सबै धोका भुल्न लागेका छन् ।

ओलीले नचाहेको भए उपाध्यक्ष बन्न नपाउने निष्कर्षमा पुगेका गौतमले पछिल्लो सचिवालय बैठकको प्रस्तावमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । प्रधानमन्त्री भन्ने प्रस्तावबारे आफू नबाेले पनि निकट कार्याकर्ताका अभिव्यक्ति र सामाजिक सञ्जालको टिप्पणीले देखाउन थालेका छन्– गौतम प्रधानमन्त्री लोभतर्फ लत्रिइरहेका छन् ।

गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको दोस्रो दिन नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–सांसद नभएको व्यक्ति कसरी प्रधानमन्त्री हुन्छ ? एउटा उत्पट्याङ प्रस्ताव, अर्को नाम आएपछि मख्ख, अरु अब त छोड्ने भए भनेर लट्ठ ।

उनले यत्ति मात्र होइन, अझ अगाडि ४ वटा बुँदा पनि लेखेका छन् ।

१. अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि कि कोही प्रतिनिधिसभा सदस्यलाई बली चढाउनु पर्‍यो ।
२. संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने संविधानमा व्यवस्था गर्नुपर्‍याे ।
३. खिलराज रेग्मी मोडेल अपनाउनु पर्‍याे ।
४ पञ्चायती व्यवस्थामा झैँ राजाले खास मान्छे टिपेर नियुक्त गर्ने तरिकामा छलाङ मार्नु पर्‍याे ।
र अन्त्यमा उनले लेखका छन्– अरु पनि कुनै विकल्प पनि छ कि लोक हँसाउने कमरेड कलाकार ?

नेकपाका भुक्तभोगी केन्द्रीय सदस्यले समेत विस्वास नगरेको प्रस्तावमा वामदेवले कति विश्वास गरेका होलान् ? समयले देखाउँदै जाला ।

नियत भैँसेपाटी गठबन्धन तोड्ने

प्रधानमन्त्रीको गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सके भैँसेपाटी गठबन्धन फुटाउने, नसके उनीहरूको प्रस्ताव नै हल्का बनाउने हो । भैँसेपाटी गठबन्धनले अहिले नै ओलीले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

ओलीले माधवकुमार नेपालको अध्यक्ष कम प्रधानमन्त्री बढी बन्ने चाहना बुझेका छन् । त्यही भएर ओलीले उनको योजना नै बिथोल्ने गरी प्रस्ताव गरेको एक स्थायी कमिटी सदस्यको दाबी छ ।

बेमौसमी बाजा

अहिले विश्व कोरोना भाइरसको सन्त्रासमा छ । यसले विश्व नै लकडाउनमा छ । विश्व तत्काल लयमा फर्कने अवस्थामा छैन । नेपालमा तत्काल उपनिर्वाचन गरेर गौतमलाई सांसद बनाउने अवस्था पनि छैन ।

अझ प्रधानमन्त्रीले कोरोना भाइरस सकिएपछि प्रधानमन्त्री बनाउने भनेका छन् । यस कारण गौतमको प्रधानमन्त्री हुने चाहना र ओलीको प्रस्ताव एकादेशको कथा नभए पनि कम्तिमा पनि तत्काल सम्भव छैन ।

त्यसो भए ओलीले गौतमको खिल्ली उडाउन र नेपालको सेखी झार्न प्रधानमन्त्रीको ‘पासा’ फ्याँकेका हुन् ?

नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘ओली साउथ इण्डियन फिल्मी शैलीमा अगाडि हेरेर पछाडिको मान्छेलाई गोलीले ढाल्ने मान्छे हुन्,’ उनी थप्छन्, ‘यस पटक माधव नेपाल अगाडि छन्, वामदेव गौतम पछाडि । तर, निशाना पछाडि नै लाग्नेवाला छ ।’

-shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban