

काठमाडौं।
नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिलकाे कार्यालय, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।
सांसद डा. यादवलाई अपहरण गरेको अभियोगमा पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठलाई कारबाही गर्नुपर्ने मागसहित जसपाले उजुरी दर्ता गरेको हो ।
सरकारी वकिलकाे कार्यालयले सोमबार जाहेरी दर्ता गरेको हो । सरकारी वकिलकाे कार्यालयमा डा. यादवको उजुरी १०४६ नम्बरमा दर्ता भएको छ । गतसाता उनले सरकारी वकिलकाे कार्यालयमा निवेदन दिएका थिए । निवेदनमाथि अनुसन्धान गर्ने भन्दै त्यो बेला दर्ता गर्न कार्यालयले मानेको थिएन ।
उक्त निवेदन सोमबार दर्ता भएको जनता सामाजवादी पार्टीका नेता गणेश कुँवरले जानकारी दिए । यसअघि १२ गते अपहरण घटनाको छानबिन गर्न माग गर्दै डा. यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् ।
काठमाडौं महानगरीय प्रहरी परिसरले भने उनको जाहेरी लिन मानेको थिएन । महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले १० वैशाखमा काठमाडौं ल्याएका थिए ।
यसैगरी, आज नै नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले मानवअधिकार आयोगमा डा. यादवविरुद्ध उजुरी दिएका छन् । ‘नेपालको संविधानको धारा २४९ को उपधारा २ (क), २ (ख) र राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम मानवअधिकारको उल्लंघन भएको, दुरुत्साहन भएको भन्दै सत्यतथ्य छानविन गरी प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गर्न गराउन सिफारिस गरी पाऊँ’ भनी उनीहरूले उजुरी दर्ता गराएका हुन् ।
-shilapatra.com





Write your Comment