काठमाडौं प्रहरीको कोर्टमा सा‌ंसद अपहरण मुद्दा ! के होला सासंदद्वयको पद ?

रातोघर

 २०७७ बैशाख २३, मंगलबार  मा प्रकाशित
३८५ पाठक संख्या


पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसहित नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठमाथि लागेको सांसद अपहरणको अनुसन्धान काठमाडौं प्रहरीको कोर्टमा पुग्ने भएको छ ।

सोमबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको उनीहरुविरुद्धको अपहरणको मुद्दा सरकारी वकिलको कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको लागि पठाउने तयारी गरेसँगै अनुसन्धाको जिम्मा काठमाडौं प्रहरीले गर्नु पर्ने भएको हो ।

सरकारी वकिल कार्यालका सूचना अधिकारी नुमराम खनालकाअनुसार पूर्व आईजीपी खनालसहित सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्धको उजुरी मंगलबार वा बुधबार काठमाडौं प्रहरीलाई अनुसन्धानको लागि पठाउने तयारी भइरहेको बताए ।

‘आज वा भोलि हामी अपहरणको उजुरी काठमाडौं प्रहरीलाई अनुसन्धानको लागि पठाउँछौं, त्यहीँ अनुसारको गृहकार्य गरेका छौं, दर्ता नै भएपछि अनुसन्धान हुन्छ/गर्नुपर्छ,’ खनालले भने ।

उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यावदलाई अपहरण गरेको अभियोग छ । १० वैशाखमा पूर्वआईजीपी खनाल र सासंदद्धयले यादवलाई महोत्तरीस्थित उनकै घरबाट यादवलाई काठमाडौं ल्याएका थिए ।

खनालसहित तीनै जनाले यादव नेकपा प्रवेश गर्न महोत्तरीबाट काठमाडौं आएको र आफूहरुले सहजकर्ताको भूमिका मात्र खेलेको दाबी गरेका छन् । तर यादवले भने आफूलाई दबाबमा काठमाडौं ल्याएको भन्दै तिनै जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गर्नुअघि पीडित यादवसहित जनता समाजवादी पार्टीका नेता पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

टेकु प्रहरीले किटानी जाहेरी लिन नमानेपछि यादवसहित जनता समाजवादीका नेता सरकारी वकिलको कार्यालय पुगेका थिए । सरकारी वकिलको कार्यालयले दुई दिनपछि सोमबार किटानी जाहेरी दर्ता गरेको हो ।

के हुन्छ बस्नेत र श्रेष्ठको सांसद पद ?

अपहरणजस्तो गम्भीर अभियोगमा नेकपा सांसदद्धय बस्नेत र श्रेष्ठमाथिको किटानी जाहेरी दर्ता भएपछि उनीहरुको सांसद पद के हुने ? भन्ने प्रश्न उठेको छ ।

बस्नेत भक्तपुर र श्रेष्ठ तनहुँबाट निर्वाचित सांसद हुन् ।

संविधानमै नैतिक पतन हुने फौजदारी अभियोग लागेका स्वतः सांसद पद निलम्बन हुने प्रावधान छ । जनप्रतिधिमाथि नै गम्भीर आरोप लाग्नु र प्रहरीले अनुसन्धान गर्ने बाटो खुुल्ला हुनु आफैंमा नैतिक प्रश्न रहेको कानुन व्यवसायी शंकर श्रेष्ठको भनाइ छ ।

‘नैतिक प्रश्न उठ्नासाथ सासंद पद निलम्बन गरेर अनुसान्धाको लागि सहयोग गर्नुपर्छ । उजुरी दर्ता हुनासाथ पक्राउ नै गर्नपर्छ भन्ने हुँदैन । पक्राउ नगरिकनै पनि कतिपय अपराधको अनुसन्धान गर्न सकिन्छ । तर अनुसन्धानको लागि भने सहज गर्नैपर्छ,’ श्रेष्ठले भने ।

यसअघि पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कारको अभियोग लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए भने सांसद पद निलम्बित भएको थियो । हाल अदालतबाट सफाइ पाएपछि उनको निलम्बित सांसद पद फुकुवा भएको छ ।

-shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban