कोरोना कहरः भारतमा संक्रमितको संख्या ५० हजार नजिक, भुटानमा २ जना मात्र अस्पतालमा

रातोघर

 २०७७ बैशाख २४, बुधबार  मा प्रकाशित
४४१ पाठक संख्या


 काठमाडौं । 

दक्षिण एसियाको सबैभन्दा बढी कोरोना प्रभावित देश भारतमा संक्रमितको संंख्या ५० हजार नजिक पुगेको छ । मंगलबार झण्डै ३ हजार थपिएसँगै त्यहाँ कुल संक्रमित संख्या ५० हजार नजिक पुगेको हो ।

वल्डोमीटरका पछिल्लो तथ्यांकअनुसार भारतमा बुधबार बिहानसम्म ४९ हजार ४ सय व्यक्तिमा कोरोना पुष्टि भएको छ । जससमध्ये १४ हजार १ सय संक्रमित कोरोना जितेर घर फर्किँदा १ हजार ६९३ व्यक्तिले ज्यान गुमाएका छन् ।

विगत २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा १ सय २७ जनाको मृत्यु भएको छ । अहिले त्यहाँ साढे ३३ हजार संक्रमितको उपचार जारी छ ।

भारतमा हालसम्म ११ लाख ९१ हजार व्यक्तिले कोरोना परीक्षण गरिसकेका छन् ।

पाकिस्तानमा संक्रमितको संख्या २२ हजार नाघ्दा ५१४ जनाले ज्यान गुमाएका छन् । मंगलबार त्यहाँ १ हजार १०८ नयाँ संक्रमित थपिँदा ३८ जनाले ज्यान गुमाए ।

बंगलादेशमा संक्रमितको संख्या झण्डै ११ हजार पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७ सय ८६ संक्रमित थपिँदा १ जनाले ज्यान गुमाएका छन् ।

अफगानिस्तानमा ३ हजार २ सयमा कोरोना पुष्टि हुँदा ९५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा अफगानिस्तानमा ३३० संक्रमित थपिँदा ५ जनाले ज्यान गुमाएका छन् ।

श्रीलंकामा ७ सय ७१ जना कोरोनाबाट प्रभावित भएका छन् । जसमध्ये ९ जनाको मृत्यु हुँदा २ सय बढी निको भएका छन् ।

माल्दिभ्समा ५ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म २ जनाको मृत्यु हुँदा २० संक्रमित उपचारपछि घर फर्किएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगञ्जका ७ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ८२ पुगेको हो । जसमध्ये १६ जना उपचारपछि घर फर्किएका छन् । यद्यपि ३ जनामा पुनः संक्रमण पोजिटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

साढे ६४ हजारमा कोरोना परीक्षण गरिएको नेपालमा हालसम्म यसको संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छैन

एसियाकै सबैभन्दा कम कोरोना प्रभावित भुटानमा हालसम्म ७ जनामा संक्रमण पुष्टि भएको छ । ७ मध्ये ५ जना निको भइसकेका छन् ।

११ हजारमा कोरोना परीक्षण गरिएको भुटानमा पनि हालसम्म यो भाइरसबाट कसैको पनि ज्यान गएको छैन ।

हाल पनि तीव्र गतिमा फैलिरहेको कोरोनाबाट विश्वका २१० देश प्रभावित भइसकेका छन् ।

बुधबार बिहानसम्म यो भाइरस विश्वका ३७ लाख २६ हजारमा व्यक्ति पुष्टि भएको छ । जसमध्ये १२ लाख ४१ हजार उपचारपछि घर फर्किएका छन् । २ लाख ५८ हजार संक्रमितको भने निधन भएको छ ।

-Shilapatra

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban