यी हुन् स्यानिटाइजरका बारेमा तपाईंले जान्नै पर्ने १३ कुरा

रातोघर

 ३१ श्रावण २०७७, शनिबार १०:५१  मा प्रकाशित
९६२ पाठक संख्या



  • अहिले मानिसले साबुनभन्दा धेरै स्यानिटाइजर प्रयोग गर्न थालेका छन्।
  • हामी घरैमा बसेका छौं भने जुनसुकै बेला स्यानिटाइजरको प्रयोग आवश्यक छैन।
  • सकेसम्म स्यानिटाइजरको सीमित प्रयोग गर्नु राम्रो हुन्छ। किनकी यसको बढी प्रयोगबाट मानव शरीरका कोष मर्न सक्छन्।
  • स्यानिटाइजर र साबुनको तुलना गर्ने हो भने साबुन ब्याक्टेरिया वा भाइरस मार्नमा बढी प्रभावशाली छ।

काठमाडौं। स्यानिटाइजर, कोरोना भाइरसको महामारी अगाडि त्यसबेला मात्रै प्रयोग हुन्थ्यो, जब हामी अस्पतालमा कोही बिरामीलाई हेर्न जान्थ्यौं। तर, अब त्यो अवस्था रहेन। कोरोनाको महामारीका कारण अहिले मानिसले साबुनभन्दा धेरै स्यानिटाइजर प्रयोग गर्न थालेका छन्। तर, माइक्रो ब्याक्टेरियल एक्सपर्टले भने यसो नगर्न सल्लाह दिएका छन्।

भारतको पूणेको नेसनल एड्स रिसर्च इन्स्टिच्युटमा माइक्रो बायोलोजीका जानकार राजिव निमाले स्यानिटाइजरको तुलनामा साबुनले हात धुन सल्लाह दिएका छन्। “स्यानिटाइजरको प्रयोग तब मात्रै गरौं, जब हामीसँग हातधुने विकल्प हुँदैन”, उनले भने, “यो हाम्रो छाला र स्वास्थ्य दुवैका लागि लाभदायी हुनेछ।”

स्यानिटाइजरको बारेमा यी १३ प्रश्न र उत्तर जान्नुहोस्, जुन तपाईंका लागि एकदम आवश्यक छन्।
स्यानिटाइजरले के काम गर्छ ? 

भारतको पूणेस्थित हरिसिंह गौर विश्वविद्यालयका माइक्रोबायोलोजीका प्रोफेसर नविन काङ्गो भन्छन्, “स्यानिटाइजरको प्रमुख कार्य कुनै सतहलाई ‘स्टेरलाइज्ड’ अथवा जिवाणुरहित बनाउनु हो। स्यानिटाइजरले कुनै पनि सतहलाई भाइरस, ब्याक्टेरिया, फङ्गल्सलगायतका जिवाणुरहित बनाउँछ ।”

बजारमा कति किसिमका स्यानिटाइजरको बिक्री भइरहेको छ ?

बजारमा दुई किसिमका स्यानिटाइजर बिक्री भइरहेको राजिव बताउँछन्। यस्तो स्यानिटाइजर अल्कोहल बेस्ड र एन्टी ब्याक्टेरियल हुन्छ। अल्कोहल बेस्ड स्यानिटाइजर कोरोना भाइरसलाई नष्ट गर्न बढी प्रभावकारी हुन्छ। यसमा ७० प्रतिशतभन्दा बढी अल्कोहल छ भने त्यो सबैभन्दा राम्रो हुन्छ। त्यस्तै बजारमा ९५ प्रतिशत अल्कोहलवाला पनि प्रभावकारी हुन्छ।

बजारमा भएका अल्कोहल बेस्ड स्यानिटाइजरमा ६० देखि ९५ प्रतिशतसम्म अल्कोहल, जोकी एथेनल, प्रोपेनल र आइसो प्रोपेनल मिलाएर बनाइएका स्यानिटाइजर उपलब्ध छन्। यसले किटाणुबाट सुरक्षित राख्ने भएकाले यसलाई मेडिकल डिसइन्फेक्टमा पनि प्रयोग गरिन्छ।
त्यस्तै अल्कोहल फ्रि स्यानिटाइजर पनि बजारमा उपलब्ध छ। यसमा एन्टिसेप्टिक हुन्छ। जसमा एन्टी माइक्रोबायर एजेन्टस वा बेजाकोनियम क्लोराइड हुन्छ। यसले किटाणु पूर्णरूपमा नष्ट गर्छ। र, यसमा रोजम्यारी पनि हुने भएकाले छालालाई पनि सफ्ट बनाउन मद्दत गर्छ।

किन स्यानिटाइजरको प्रयोग गरिन्छ ?

प्रोफेसर नविनले जब हामी आफ्नो हातमा भएका विभिन्न खालका घातक ब्याक्टेरिया–भाइरसलाई हटाउन चाहन्छौं भने डिसइन्फेक्टका रूपमा स्यानिटाइजरको प्रयोग गर्छौं।

दिनमा कति पटक स्यानिटाइजर प्रयोग गर्नु आवश्यक ?

कुनै पनि कुरा खानु अगाडि स्यानिटाइजरको प्रयोग गर्नु वा हात धुनु आवश्यक हुन्छ। यस्तै, कुनै बस, ट्रेन वा कुनै सार्वजनिक यातायातको प्रयोग गर्दा वा गरिसकेर पनि स्यानिटाइजरको प्रयोग गर्नुपर्छ। तर, यदि हामी घरैमा बसेका छौं भने जुनसुकै बेला स्यानिटाइजरको प्रयोग आवश्यक छैन। यदि आवश्यक परे स्यानिटाइजरभन्दा पनि हात धुनु उत्तम विकल्प हो।

स्यानिटाइजर प्रयोग गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ ?

सकेसम्म स्यानिटाइजरको सीमित प्रयोग गर्नु राम्रो हुन्छ। किनकी यसको बढी प्रयोगबाट मानव शरीरका कोष मर्न सक्छन्। यदि स्यानिटाइजरको धेरै प्रयोग गरियो भने हात सुख्या हुने सम्भावना हुन्छ। र, यसले कालन्तरमा हामीलाई साइड इफेक्टतर्फ पनि डोर्‍याउन सक्छ। तर, अहिले कोरोना भाइरसको महामारीमा भने यसको प्रयोग आवश्यक छ।

स्यानिटाइजरको प्रभाव कति समयसम्म रहन्छ ?

स्यानिटाइजर लगाउने बित्तिकै त्यहाँ भएका ब्याक्टेरिया तथा भाइरस पूर्ण रूपमा नष्ट हुन्छन्। तर, यसको प्रभाव तीनदेखि चार मिनेट सम्म मात्र हुन्छ। त्यति समयमा अल्कोहलसहित अन्य केमिकल पनि उड्ने भएकाले यसको प्रभाव लामो समयसम्म हुन्न। त्यसैले स्यानिटाइजर लगाएर अरुले छुन सक्ने ठाउँमा छोएपछि पुनः लगाउनु आवश्यक हुन्छ।

स्यानिटाइजर लगाउने बित्तिकै हातले केही कुरा खानु हुन्छ ?

स्यानिटाइजर लगाइएको हातले खानुमा कुनै खतरा हुँदैन। तर, दिनमा १०–२० पटक स्यानिटाइजरको प्रयोग गरिन्छ भने धेरै मात्रामा पेटमा पुग्न सक्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।

स्यानिटाइजरले भाइरस कसरी नष्ट गर्छ ?

भाइरस भनेको प्रोटिन र आरएनए हो। यो फिँजले मर्छ। त्यसैले जब हामी साबुन वा स्यानिटाइजरको प्रयोग गर्छौं, भाइरस पूर्ण रूपमा नष्ट हुन्छ। स्यानिटाइजरमा ७० प्रतिशत एथेनल, आइसो प्रोपेनल हुन्छ। त्यसले भाइरसको प्रोटिन नष्ट हुन्छ।
भाइरस नष्ट गर्ने कुरामा स्यानिटाइजर प्रभावशाली हुन्छ। तर, सँगसँगै यसबाट छालालाई क्षति पनि पुग्न सक्छ। त्यसैले बजारमा पाइने सुगन्धित स्यानिटाइजरभन्दा एथेनल बेस्ड स्यानिटाइजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ।

ह्यान्ड स्यानिटाजर भाइरसबाट जोगिन कति सुरक्षित छ ?

स्यानिटाइजरको प्रयोग तुरुन्तै प्रभावशाली हुन्छ। धेरै समयसम्म नरहे पनि स्यानिटाइजरले दुई देखि तीन मिनेटमा ९९ प्रतिशत ब्याक्टेरिया तथा भाइरस नष्ट गर्नसक्छ। र, कोरोनाको विषयमा भने यसले १०० प्रतिशत भाइरस नष्ट गर्छ।
स्यानिटाइजर र साबुनको तुलना गर्ने हो भने साबुन ब्याक्टेरिया वा भाइरस मार्नमा बढी प्रभावशाली छ। किनकी साुबन लगाउँदा हात तथा औंलाको कापमा पनि पुगेर भाइरस मार्ने सम्भावना बढी हुन्छ। जबकी स्यानिटाइजरले कभर गर्ने एरियामा कम हुन्छ।

नक्कली स्यानिटाइजर कसरी चिन्ने ?

– स्यानिटाइजरमा अल्कोहलको वासना हुनुपर्छ।
– रङ हेरेर स्यानिटाइजर चिन्न सकिँदैन।
– गुणस्तर मापन केन्द्रबाट सर्टिफाइड स्यानिटाइजर मात्रै किन्नुपर्छ।
–स्यानिटाइजर बनाउन प्रयोग गरिएका कच्चा पद्धार्थ हेरेर पनि नक्कली र सक्कली छुट्याउन सकिन्छ।

स्यानिटाइजरमाथि कसरी भरोसा गर्ने ?

जानकार भन्छन्, “अहिले बजारमा विभिन्न किसिमका स्यानिटाइजरको बिक्री वितरण भइरहेको छ। र, यीनमा धेरै जसो नक्कली स्यानिटाइजर छन्। त्यसैलै स्यानिटाइजर किन्ने बेलामा सावधानी अपनाउनु एकदमै आवश्यक छ। किनकी नक्कली स्यानिटाइजरले भाइरस मर्दैन। र, संक्रमणको जोखिम उच्च हुन्छ।”

स्यानिटाइजरको प्रयोग मिति कति हुन्छ ?

प्रायः स्यानिटाइजरहरू प्रयोग गर्न नहुने गरी बिग्रिँदैनन्। धेरै जसो स्यानिटाइजरको म्याद गुज्रिने समय तीन वर्षसम्म हुन्छ। अल्कोहलमा कम्तिमा पनि ६० प्रतिशत अल्कोहल छ भने त्यो लामो समयसम्म प्रयोग गर्न सकिन्छ।

स्यानिटाइजर प्रयोग गरिरहेका बेला के कुरामा ध्यान दिनुपर्छ?

अल्कोहलको प्रयोग गरिरहँदा आगोभन्दा टाढा जानुपर्छ। किनकी अल्कोहल प्रज्वलनशील हुन्छ। त्यस्तै स्यानिटाइजर लगाउने बित्तिकै मुख, नाक, आँखा नछुनु उत्तम हुन्छ। किनकी यसले साइड इफेक्ट हुनसक्छ। स्रोत  : देखापढी ।

Write your Comment