रौतहटमा डिएसपी सहित २० जना प्रहरी कोरोना संक्रमित

रातोघर

 २४ भाद्र २०७७, बुधबार २०:३९  मा प्रकाशित




रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सो कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही सहित २० जनामा संक्रमण देखिएको हो । जसमा २ जना प्रहरी निरिक्षक समेत छन् ।

बुधबार आएको पीसीआर रिर्पोटको नतिजामा आफु सहित २० जनामा संक्रमण देखिएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए । आफु लगायत दुई प्रहरी अधिकृत सहित यति ठुलो संख्याका प्रहरीलाई एकै पटक संक्रमण देखिए पनि प्रहरीद्धारा प्रदान गरिने शान्ति, सुरक्षा तथा नागरिक सेवामा कुनैपनि कमिकमजोरी हुन नदिन आफुहरु लागि परेको डिएसपी शाहीले बताए ।

संक्रमित प्रहरीलाई मध्ये पायक पर्नेलाई होम आइसोलेसन र पायक नपर्नेहरुलाई चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको अस्थायी कोरोना अस्पतालमा पठाइएको उनले जानकारी दिए । सो कार्यालयमा कार्यरत अन्य प्रहरीहरुको पनि कन्ट्याक ट्रेसिङ्गको आधारमा स्वाव परिक्षण गरिने उनको भनाइ छ । चन्द्रपुरबाट प्रहरी सहित ४१ जनाको स्वाव परिक्षणको लागि पठाइएकोमा प्रहरी सहित जम्मा २८ जनाको रिर्पोट पोजेटिभ आएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिएका छन ।स्वास्थ्य मन्त्रालय र जिल्लाको कोरोना संक्रमितको तथ्याङ्क फरक हुनाले सर्वसाधरण अन्यौलमा परेका छन् ।

यता रौतहट जिल्लाका हालसम्मको कोरोना संक्रमित संख्या सहित अन्य धेरै तथ्याङ्कहरु फरक देखिएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार मंगलबारसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या १ हजार ६७४ रहेको छ । जबकी स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट गर्ने वेभसाइटमा यो संख्या १ हजार ९२६ रहेको छ ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अनुसार जिल्लामा १ सय ९३ सक्रिय संक्रमित रहेका छन् तर जिल्ला प्रशासनको तथ्याङ्क अनुसारभने यो संख्या १ सय २९ मात्र रहेको छ ।

Write your Comment