

रुपन्देही । भारतीय नीतिका कारण रुपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित भिस्तार ग्लोबल र पञ्चकन्या नामक दुई ठूला स्टिल उद्योग गम्भीर संकटमा परेका छन् । भारतले स्टिल उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थमै ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डस्’ (बीआईएस) अनिवार्य गरेपछि विगत तीन महिनादेखि नेपालबाट स्टिलका भाँडाकुँडा र ट्याङ्कीको निर्यात पूर्ण रूपमा रोकिएको हो ।
निर्यात बन्द भएपछि पञ्चकन्याले उत्पादन नै बन्द गरेको छ भने भिस्तार ग्लोबलले उत्पादन ९५ प्रतिशतले घटाएको छ । यसले अर्बौँको कारोबार प्रभावित हुनुका साथै सयौँ टन तयारी सामान गोदाममै थन्किएको छ । चीनबाट आयात गरिएको कच्चा पदार्थ पनि वीरगन्ज र कोलकाता बन्दरगाहमा रोकिएको छ ।
उद्योगीहरूले भारतको नीति चीनको कच्चा पदार्थलाई रोक्ने रणनीति भएको आरोप लगाएका छन् । भैरहवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्र ३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको स्टिल भाँडाकुँडा निर्यात भएको थियो । तर निर्यात रोकिँदा यस वर्ष राजस्वमा ठूलो घाटा हुने चेतावनी दिइएको छ ।
उद्योगी तथा व्यापारी संगठनहरूले समस्या समाधानका लागि सरकारले भारतसँग उच्च तहमा पहल गर्नुपर्नेमा जोड दिएका छन् ।





Write your Comment