

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा नेपाली कांग्रेसले सांसद दिलेन्द्रप्रसाद बडुलाई पठाउने तयारी गरेको छ।
यद्यपि अन्तिम निर्णय भइनसकेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। कांग्रेसका सांसद तथा समितिका एक सदस्यका अनुसार बडुलाई सभापति बनाउने गरी गृहकार्य सुरू भएको हो। बडु यसअघि मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन्।
सभामुख देवराज घिमिरेले समितिको सभापति निर्वाचनको मिति भदौ ११ गते बुधबार तोकेका छन्। नियमावलीअनुसार सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने व्यवस्था छ। गठबन्धन दलबीचको सहमति अनुसार यस समितिको सभापति पद नेपाली कांग्रेसले पाउनेछ।
यसअघि संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा छेडखानी भएको आरोपमा छानबिन समितिले तत्कालीन सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर गर्दै, उनले साउन २८ गते राजीनामा दिएका थिए।





Write your Comment