

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलन अहिले सङ्कटपूर्ण अवस्थामा रहेको बताएका छन्।
पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलन मात्र नभई सम्पूर्ण राजनीतिक दलहरू नै चुनौतीको सामना गरिरहेको उल्लेख गरे। उनले भने, “हामी चुनौतीलाई पन्छाउँदै अघि बढिरहेका छौँ। त्यसलाई समाधान गर्ने आँट राख्नुपर्छ। पार्टीभित्र समस्या छन्, तर जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ।”
अध्यक्ष नेपालले पार्टीका नेता–कार्यकर्तालाई निराशा हटाएर सकारात्मक सोचसहित अघि बढ्न आह्वान गरे। उनले नेपालको कम्युनिस्ट आन्दोलन र मुलुकको राजनीतिमा समाजवादी पार्टीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै विचारको कुनै संकट नरहेको दाबी गरे।
“मुलुकलाई वैज्ञानिक समाजवादतर्फ लैजाने नीति अघि बढाएका छौँ। विद्रोह गर्ने आँट नगरेको भए त्यही पार्टीभित्र पनि विद्रोही चेत भएका मानिसहरू तयार हुने थिएनन्,” उनले भने।
उनले निराशा भएका कार्यकर्ताहरू पलायन हुने गरेको बताए। साथै, गर्न सक्नेहरूले अगाडि बढेर उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिए। अध्यक्ष नेपालका अनुसार पार्टीभित्र छलफल र संवादको वातावरण बनाउन आवश्यक छ, जसले गर्दा सकारात्मक सन्देश सम्पूर्ण पंक्तिमा प्रवाह गर्न सकियोस्।





Write your Comment