

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणलाई नयाँ अठोटसहित अघि बढाउनुपर्ने बताएका छन्।
पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै खनालले समाजवादी आन्दोलनलाई सबल बनाउन नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा उपस्थित अध्यक्ष माधवकुमार नेपालतर्फ संकेत गर्दै उनले पार्टीको १० औँ महाधिवेशनले पारित गरेको दस्तावेज अहिलेसम्म सार्वजनिक नगरेकोमा प्रश्न समेत उठाए।
“१० औँ महाधिवेशनले नेपाली समाजवादको कार्यक्रम अघि सारेका छौँ। तर त्यो अहिलेसम्म प्रकाशित भएको छैन। यो कमजोरी कसको हो भन्ने बुझ्न बाँकी छ। प्रकाशित गर्नुपर्छ, यसले हाम्रो समाजवादी कार्यक्रमलाई स्पष्ट रूपमा अघि ल्याउँछ,” खनालले भने।
उनले नेपाली समाजवादको रूपमा मार्क्सवादलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। “अहिले हामी पूँजीवादी समाजमा छौँ। यसलाई ध्वस्त पारेर समाजवाद निर्माण गर्ने हाम्रो लक्ष्य हो। त्यसका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाबारे छलफल गरेर ठोस लक्ष्य तय गर्नुपर्छ,” उनले स्पष्ट पारे।
खनालले पार्टीले प्रधान अन्तर्विरोध पहिचान गरेर त्यसैअनुसार प्रहार गर्नुपर्ने आवश्यकता पनि औँल्याए।





Write your Comment