

तीज नेपाली महिलाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो, जसको आरम्भ पौराणिक कथासँग जोडिएको छ। मान्यताअनुसार देवी पार्वतीले भगवान् शिवलाई पति स्वरूप प्राप्त गर्न कठोर व्रत र तपस्या गरेपछि तीजको परम्परा स्थापना भएको हो। परम्परागत रूपमा यो पर्व महिलाको सामाजिक भेटघाट, सामूहिक गीत–नृत्य, माइती परिवारसँगको पुनर्मिलनको अवसर र सांस्कृतिक अभिव्यक्तिको माध्यम पनि हो। व्रत बस्ने, शिव–पार्वतीको पूजा गर्ने, शिव मन्दिर दर्शन गर्ने र भक्ति गीत तथा भजन गाउने परम्परा आजसम्म जीवित छ। यसका साथै, तीजले सामाजिक सन्देश पनि प्रवाह गर्ने गरेको छ; गीतको भावमा विभेद, सामाजिक विकृति र अन्यायविरुद्धका आवाज समेटिएका छन्। २०४६ भन्दा पहिले तीजले सामन्ती सत्ताविरुद्ध र राजनीतिक चेतना फैलाउने माध्यमको रूपमा पनि भूमिका खेलेको थियो। परम्परागत भेषभूषा, रातो सारी, हरियो–रातो चुरा, पोतेलगायत नारी सौन्दर्य र संस्कारको प्रतीकका रूपमा रहँदै आएको छ।
आजको समयमा तीज केवल धार्मिक पर्व नभई सांस्कृतिक र सामाजिक सशक्तिकरणसँग जोडिएको साझा पर्व पनि बनेको छ। तर, व्यावसायिकरण, ब्राण्डेड लुगा, महंगो गरगहना र भोज–महोत्सवका कारण मौलिकता केही हदसम्म प्रभावित भएको छ। सामाजिक सञ्जाल, आधुनिक जीवनशैली र विदेशी संस्कृतिको प्रभावले युवा पुस्तामा पारम्परिक संस्कृतिप्रति आकर्षण घटाउँदै लगेको छ। स्वास्थ्य, समानता र वैज्ञानिक सोचलाई ध्यानमा राख्दै व्रत, नाचगान, दर खाने र सांस्कृतिक अभिव्यक्तिलाई संतुलित र सभ्य तरिकाले अघि बढाउन जरुरी छ। विद्यालय, क्याम्पस र समुदायस्तरमा तीजको मौलिकता, संस्कृति र सामाजिक सन्देश प्रवाह गर्न कार्यक्रमहरू आयोजना गर्न सकिन्छ। यसरी तीजलाई रमाइलो मात्र नभई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवारी र विचारसहितको पर्वको रूपमा अघि बढाउन सकिन्छ।





Write your Comment