सामाजिक सञ्जाल दुरुपयोग नियन्त्रणमा सरकारले सशक्त कदम चालेको घोषणा

रातोघर

 २०८२ भाद्र १२, बिहिबार  मा प्रकाशित
२०५ पाठक संख्या


काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रभाव र दुरुपयोगलाई कानुनी दायरामा ल्याउन सरकारले सशक्त कदम चालेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार अन्तिम सूचना जारी गर्दै नेपालमा सञ्चालन हुने सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिनभित्र सम्पर्क व्यक्तिको विवरण पेश गर्न निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार यो निर्देशन सर्वोच्च अदालतको आदेशअनुसार, मन्त्रिपरिषद्को गत सोमबारको निर्णयका आधारमा सार्वजनिक गरिएको हो। अदालतले नेपालमा क्रियाशील सबै सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गरी नियमन गर्न र सम्पर्क बिन्दु राख्न नेपाल सरकारलाई निर्देशन दिएको थियो।

सूचनामा उल्लेख भएअनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले सात दिनभित्र सम्पर्क व्यक्तिको नाम, स्थायी ठेगाना, इमेल ठेगाना र फोन नम्बर मन्त्रालयमा पेश गर्नुपर्नेछ। यदि समयावधिभित्र विवरण उपलब्ध नगराएमा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आवश्यक प्रविधि प्रयोग गरी ती प्लेटफर्मको पहुँच नियन्त्रण गरिने छ।

मन्त्रालयले यसअघि नै तयार गरेको ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८०’ पालना गर्नुपर्ने पनि स्पष्ट पारेको छ। यसका साथै सरकारले सामाजिक सञ्जाल प्रयोग कानुनी, मर्यादित र उत्तरदायित्वपूर्ण बनाउन आवश्यक कदम उठाएको जनाएको छ। यस सूचनाको कार्यान्वयनपछि फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम लगायतका प्लेटफर्मले सजग रहनुपर्नेछ, र सात दिनभित्र सम्पर्क विवरण नपठाएमा तिनका सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban