बाराका किसान रामस्वरुप पंडितले ड्रागन फल खेतीबाट आम्दानीको नयाँ इतिहास रचे

रातोघर

 २०८२ भाद्र १२, बिहिबार  मा प्रकाशित
२७३ पाठक संख्या


कलैया । बाराको करैयामाई गाउँपालिका–८ औनियाका किसान रामस्वरुप पंडित यतिबेला ड्रागन फल खेतीमै व्यस्त छन्। दुई वर्षअघि रु ४ लाख लगानी गरेर सुरु गरिएको ‘गढीमाई एग्रो तथा ड्रागन फ्रुट फार्म’ अहिले प्रशस्त फलफूलले लटरम्म फलेको छ। शुरुवाती चरणमा भारत र नेपालबाट करिब ६ सय बिरुवा ल्याएर खेती सुरु गरेका पंडितले अहिले आठवटा प्रजाति—‘मलेसियन रेड’, ‘ईजराइली एलो’, ‘साएम रेड’, ‘हाईब्रीड सि रेड’ लगायतका ड्रागन फल उत्पादन गरिरहेका छन्।

पहिलो वर्षमै सात क्विन्टल फल बेचेर रु २ लाख १० हजार रुपैयाँ र विरुवाबाट ८० हजार रुपैयाँ आम्दानी गरेका उनले दोस्रो वर्षको आधा सिजनमै करिब रु ३ लाख आम्दानी गरिसकेका छन्। यस वर्ष १५ देखि २० क्विन्टल फल र ५०० देखि १ हजार बिरुवा बिक्री गरी ६ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य पंडितले राखेका छन्। बजारमा ड्रागन फल प्रतिकिलो रु ४ सयदेखि ५ सयसम्ममा बिक्री भए पनि उनले बारीबाटै प्रतिकिलो रु ३ सयदेखि ३५० मा बिक्री गर्दै आएका छन्।

पंडितका अनुसार एउटा बोटमै पाँचदेखि पन्ध्र किलोसम्म फल लाग्ने गर्छ। उत्पादित फल स्थानीय हाटबजारसँगै निजगढ, चपुर, वीरगञ्ज र कलैयासम्म पठाउने गरिएको छ। माग भने स्थानीय स्तरदेखि टाढाका बजारसम्म बढ्दो छ तर उत्पादन सीमित भएकाले सबै माग पूरा गर्न नसकेको उनको भनाइ छ। उनले हालसम्म वार्षिक आठ क्विन्टलभन्दा बढी फलको कारोबार गरिसकेका छन्।

स्वादिलो र पोषक तत्वले भरिपूर्ण ड्रागन फल खेतीले उनको जीवनस्तर मात्रै नभई गाउँकै पहिचान बदलिरहेको छ। खेती विस्तारको योजना बनाइरहेका पंडितले दुई जनालाई स्थायी रोजगारी समेत दिएका छन्। उनले भने, “यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन्, तर माग बढ्दो भएकाले सुरु गर्दा केही चिन्ता थियो। अहिले राम्रो आम्दानी भएको छ, अझै विस्तार गरेर धेरैलाई रोजगारी दिने सोच छ।”

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban