बारामा शिक्षकमाथि वडा अध्यक्षद्वारा कुटपिट, मानव अधिकार एलाइन्सको कडा आपत्ति

रातोघर

 २०८२ भाद्र १२, बिहिबार  मा प्रकाशित
३०० पाठक संख्या


बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशहवाले बहुदरमाई घर भई हाल बेलहियामा बसोवास गर्दै आएका शिक्षक नागेश्वर यादवलाई वडा कार्यालयमै बन्धक बनाएर कुटपिट गरेको घटनाप्रति मानव अधिकार एलाइन्सले घोर आपत्ति र कडा निन्दा प्रकट गरेको छ। स्थानीय सरकारका प्रतिनिधिबाटै शिक्षकमाथि गरिएको अमानवीय व्यवहार शिक्षा क्षेत्रका व्यक्तिमाथि मात्र नभई आधारभूत मानव अधिकारहरूको पनि गम्भीर उल्लङ्घन भएको एलाइन्सले जनाएको छ।

मानव अधिकार एलाइन्सका अनुसार यस्ता गतिविधिले शान्तिपूर्ण र सुरक्षित शिक्षण गर्ने वातावरणलाई खल्बल्याउने खतरा छ। एक जना शिक्षकलाई सार्वजनिक कार्यालयमै बन्धक बनाएर कुटपिट गर्नु शिक्षा क्षेत्रप्रति अपमान मात्र नभई सामाजिक न्यायको अपहेलनासमेत भएको भन्दै एलाइन्सले चिन्ता व्यक्त गरेको हो।

घटनामा संलग्न वडा अध्यक्ष कुशहवा हाल प्रहरीले नियन्त्रणमा लिए पनि थप ६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको गिरफ्तारी ढिलाइ हुनु अत्यन्तै दुःखद र चिन्ताजनक रहेको भन्दै मानव अधिकार एलाइन्सले तत्काल दोषी सबैलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई जोडदार माग गरेको छ।

साथै, पीडित शिक्षक यादवलाई तत्काल न्याय दिलाउनुपर्ने र सुरक्षित वातावरणमा शिक्षण गर्न सक्ने अवस्था सुनिश्चित गर्नुपर्ने एलाइन्सको भनाइ छ। एलाइन्सले स्थानीय तहका जनप्रतिनिधिहरूलाई नागरिक अधिकार, मानव अधिकार र कानूनी मर्यादाप्रति जिम्मेवार रहन पनि आग्रह गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban