

काठमाडौँ । निजी विद्यालय सञ्चालक संस्थाहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधान संशोधन नभए १८ भदौपछि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।
बिहीबार प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कम्पनी ऐनअनुसार दर्ता भएका निजी विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने, ‘पूर्ण छात्रवृत्ति’ लागू गर्ने, विद्यालयले उत्पादन नगर्ने सामग्री अनिवार्य उपलब्ध गराउने जस्ता प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन्। साथै छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने र हाल कायम विभेदकारी प्रावधानहरू हटाउनुपर्ने उनीहरूको आग्रह छ।
संयुक्त आन्दोलन कार्यक्रमअनुसार १३ भदौमा जिल्ला सदरमुकाम र काठमाडौँ उपत्यकामा खबरदारी सभा, १६ भदौमा देशभर स्कुलबसमा कालो झण्डा र ब्यानरसहित र्याली, र १८ भदौमा पुनः बृहत् खबरदारी सभा आयोजना गरिने बताइएको छ। प्याब्सनका महासचिव आरबी कटवालका अनुसार, १८ भदौसम्म मागको सुनुवाइ नभए अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ।





Write your Comment