

काठमाडौं । सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणका कारण संसदमा भइरहेको अवरोधप्रति चिन्ता व्यक्त गर्दै दल र सरकारबीच छलफल र संवाद आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकको सुरूमै सहमतिका लागि आफूले पहल गरेको उल्लेख गर्दै उनले भने, असहमति प्रदर्शन गरेर बैठक छोड्ने प्रवृत्ति दीर्घकालीन रूपमा संसदीय अभ्यास र लोकतान्त्रिक प्रणालीका लागि हानिकारक हुनसक्ने देखिएको छ ।
सभामुख घिमिरेले भने, “संसद केवल असहमति अभिव्यक्त गर्ने स्थल मात्र होइन, राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो । हामी भविष्यका लागि के सन्देश दिइरहेका छौं भन्नेमा सबै सचेत हुनुपर्छ ।”
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने उद्देश्यले संघीयतासँग सम्बन्धित विधेयकहरू पारित गर्ने प्रक्रियामा रहेको जानकारी दिँदै, सबै सांसदलाई गम्भीर र रचनात्मक बहसमा सहभागी हुन आग्रह गरे ।
सभामुखले सरकार, प्रतिपक्ष तथा सबै दलहरूलाई संवादको वातावरण सिर्जना गरी सदनलाई मूल लयमा फर्काउन अपील पनि गरेका छन् ।





Write your Comment