

काठमाडौं । राजसंस्था फर्काउने आन्दोलनको तयारी स्वरूप गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा तोकिएका छन्।
समितिका संयोजक नवराज सुवेदीले पारिवारिक कारणले छोरा सहित अष्ट्रेलिया जानुपर्ने भएपछि आफ्नो अनुपस्थितिमा सम्पूर्ण जिम्मेवारी डा. राणालाई दिने निर्णय गरेका हुन्। यसबारे समितिले सार्वजनिक गरेको विज्ञप्तिमा सुवेदीले यस्तो व्यवस्था गरिएको स्पष्ट गरेका छन्।
विज्ञप्तिमा सुवेदीले भनेका छन् — “म केही समय देश बाहिर हुनेछु । मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रुपमा आन्दोलन परिचालन समितिका संयोजक माननीय डा. धवलशम्शेर राणालाई अख्तियारी दिएको छु।”
संयुक्त जनआन्दोलन समितिले हालसम्म संवैधानिक राजसंस्था पुनःस्थापना, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्रलाई कायम राख्ने उद्देश्यसहित आन्दोलन चलाई आएको छ। समितिले देशभर विभिन्न कार्यक्रम गर्दै समर्थन जुटाइरहेको जनाएको छ।





Write your Comment