

काठमाडौँ । नेकपा एमालेले दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नगर्ने भएको छ। गत भदौ १३ गते तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। त्यतिबेलादेखि १९ वा २० गते बैठक बस्ने चर्चा भए पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट १८ गते रातिमात्र फर्कने भएकाले बैठक सम्भव नभएको नेताहरूले बताएका छन्।
अब भदौ १९ गते केन्द्रीय सचिवालय बैठक बसेर राजनीतिक, सांगठनिक र विधान संशोधनलगायत प्रतिवेदन महाधिवेशनमा पठाउने निर्णय हुने महासचिव शङ्कर पोखरेलले बताएका छन्।
भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनका लागि प्रतिवेदन छपाइ, प्रतिनिधि परिचयपत्र वितरण, हल सजावट, डिजिटल प्रवेश प्रणाली, खाना–खाजाको व्यवस्था, सडक र आकासे पुलमा नारा तथा झन्डा राख्ने काम अन्तिम चरणमा पुगेको छ। महाधिवेशनमा २ हजार ३५० जना सहभागी हुनेछन्।
यस पटकको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नेछन् भने अन्तिम तयारीबारे भदौ १८ गते पत्रकार सम्मेलनमार्फत जानकारी दिने कार्यक्रम छ।





Write your Comment