

काठमाडौं । लामो रस्साकस्सीपछि सरकारले निजामती सेवाको अनिवार्य अवकाश उमेर ५८ वर्षमै कायम गर्ने निर्णय लिएको छ । यसअघि सरकार र सत्तापक्ष दुवै ५९ वर्ष कायम गर्नुपर्ने अडानमा थिए ।
मंगलवार बिहान बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारले सहमति भइसकेको विधेयकअनुसार अवकाश उमेरलाई ५८ वर्षमै राख्ने तयारी भएको जानकारी दिइन् ।
गत तीन दिनदेखि मन्त्री न्यौपानेसँगै सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदहरूले मुख्यसचिवसहित केही सचिवहरूको सेवा अवधि एक वर्ष लम्ब्याउनुपर्ने माग गर्दै ५९ वर्षमै अवकाश हुने व्यवस्था कायम गर्नुपर्ने अडान लिँदै आएका थिए । तर अन्ततः सरकारले प्रारम्भिक सहमतिकै पक्ष लिएको हो ।
मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा पहिलो वर्ष ५८ वर्ष, दोस्रो वर्ष ५९ वर्ष र तेस्रो वर्ष ६० वर्ष अनिवार्य अवकाश उमेर तोकिएको थियो । प्रतिनिधि सभाले समेत सोही विधेयकलाई यथावत् पारित गरिसकेको छ ।





Write your Comment