

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदनमाथि मंगलबारदेखि औपचारिक छलफल सुरू भएको छ ।
सत्तारूढ सांसदहरूले ५९ वर्षे अवकाश उमेरको अडान छोडेपछि अब विधेयक टुंगो लाग्ने अवस्था बनेको छ । त्यसैअनुसार समिति सचिवालयले प्रतिवेदनको मस्यौदा तयार पारेको हो ।
समितिका उपसचिव नुमराज शर्माले बैठकमा मस्यौदा पढेर सुनाइरहेका छन् । मस्यौदा प्रस्तुत भएपछि समितिका सदस्यहरूले आफ्ना धारणा राख्ने र अन्तिममा प्रतिवेदन टुंग्याउने प्रक्रिया अघि बढ्नेछ । प्रतिवेदन पारित भएपछि समितिका सभापति तुलासाकुमारी दाहालले यही मंगलबारको राष्ट्रियसभा बैठकमा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
संवैधानिक प्रावधानअनुसार संघीय निजामती सेवा विधेयक आजै राष्ट्रियसभाबाट पारित गरिसक्नुपर्ने २ महिनाको समयसीमा सकिँदैछ । राष्ट्रियसभाबाट पारित भएपछि विधेयक पुनः प्रतिनिधिसभामा पठाइनेछ । प्रतिनिधिसभाले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।





Write your Comment