

काठमाडौँ । नेपाल आउने विदेशी पर्यटकको सुरक्षा र अनुगमनलाई प्रभावकारी बनाउन सरकारले डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्ने भएको छ । अध्यागमन विभागले असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा यो प्रणाली सुरू गर्ने निर्णय गरेको हो ।
होटल एसोसिएसन नेपालसँगको सहकार्यमा पहिलो चरणमा तारे होटलमार्फत विदेशी नागरिकको दर्ता तथा अनुगमन हुने विभागका निर्देशक टीकाराम ढकालले जानकारी दिए । विभागले सोका लागि म्यानुअलसमेत तयार गरिसकेको छ ।
ढकालका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशीले बुकिङ गरेको होटलमा जानुअघि आफ्ना विवरण अनलाइन प्रणालीमा इन्ट्री गर्नुपर्नेछ । विवरण इन्ट्री गरेपछि जेनेरेट हुने क्युआर कोडको आधारमा होटल वा सेवा प्रदायक संस्थाले विभागमा तथ्यांक पठाउने व्यवस्था हुनेछ । विवरण इन्ट्री नभएको अवस्थामा होटलहरूले आफैँ विवरण भरेर अनलाइन पठाउनुपर्नेछ ।
यस प्रणालीले पर्यटकहरूको सुरक्षा, सूचना प्रवाहमा सहजीकरण, सम्भावित आपराधिक गतिविधि नियन्त्रण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
दोस्रो चरणमा यस प्रणालीलाई देशभरका तारे होटल, विमान कम्पनी, टुर एण्ड ट्राभल्स कम्पनी तथा मनी एक्सचेन्जहरूमासमेत विस्तार गर्ने तयारी विभागको छ । क्रमशः सबै होटल, गेस्ट हाउस तथा अन्य सार्वजनिक–निजी संस्थामा पनि लागू गरिने योजना रहेको विभागका निर्देशक ढकालले बताए ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, नयाँ प्रणाली लागू भएपछि नेपालमा घुम्न आएर सम्पर्कविहीन हुने विदेशीलाई खोजी गर्न सहज हुनेछ ।





Write your Comment