बारामा कृषि मोटर ज्यानमारा : चार दिनमै करेन्ट लागेर तीनको मृत्यु

रातोघर

 २०८२ भाद्र १७, मंगलबार  मा प्रकाशित
२६० पाठक संख्या


कलैया । बारामा सिचाइका लागि प्रयोग हुने कृषि मोटर सुविधासँगै जोखिम पनि बढिरहेको छ । सावधानी नअपनाउँदा हरेक वर्ष झण्डै एक दर्जन मानिसको ज्यान जाने क्रम बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पछिल्लो चार दिनभित्र मात्रै करेन्ट लागेर सिम्रौनगढ क्षेत्रमा तीनजनाको मृत्यु भएको छ ।गत शुक्रबार सिम्रौनगढ नगरपालिका–७ झवानी टोलकी ४५ वर्षीया कैलसिया देवी रामको खेतमा काम गर्ने क्रममा बिधुतिय मोटरको काटिएको तारबाट करेन्ट लागी मृत्यु भएको थियो ।त्यसअघि बिहीबार सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका ६५ वर्षीय रामेश्वर महतो कुशवाहाको ज्यान गएको थियो ।

त्यस्तै, आइतबार दिउँसो सिम्रौनगढ नगरपालिका–५ कोनिहाटी चौरस्थित खेतमा घाँस काट्ने क्रममा ५० वर्षीया अनिता देवी यादव करेन्ट लागेर मृत भइन् । उनले भनु महतोको खेतमा पानी हाल्नका लागि जडान गरिएको तार हसियाले काट्दा करेन्ट लागी घटना स्थलमै प्राण गुमाएकी थिइन् ।

तीनै जनाको शव परीक्षण प्रादेशिक अस्पताल कलैयामा गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, विद्युत आपूर्ति गर्ने क्रममा लापरबाही, पुराना वा काटिएका तार, र सुरक्षा उपाय नअपनाउँदा वर्षेनी करेन्ट लागेर बारामा एक दर्जनजति मानिसको मृत्यु हुने गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban