

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाबाट ल्याइने स्याउमा प्रहरीमार्फत घुस असुली भइरहेको भन्दै संसद्मा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्याउ बोकेका गाडीलाई बाटोमै रोक्ने, चेक गर्ने र सय रुपैयाँसम्म घुस लिने गरेको गुनासो आएपछि सरकार गम्भीर हुनुपर्ने बताए।
शाहीले भने, “जुम्लाको अर्ग्यानिक स्याउ बजारमा आएको छ, यसमा कुनै केमिकल प्रयोग भएको छैन। तर विदेशी स्याउ आयात भइरहेकाले जुम्लाको स्याउ बजारिकरणमा गाह्रो परेको छ। अघिल्लो महिनामात्रै एक अर्ब रुपैयाँ बराबरको स्याउ बाहिरबाट भित्रिएको छ।”
उनले कृषिमन्त्रीलाई दुई महिनाका लागि विदेशी स्याउ आयात रोक्न आग्रह गर्दै किसानले ल्याएको स्याउका गाडीलाई देशभित्र कतै पनि अनावश्यक रोकावट नगराउन गृहमन्त्रीलाई ध्यानाकर्षण गराए।





Write your Comment