पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवाद नीतिगत असहमति मात्र : महासचिव पोखरेल

रातोघर

 २०८२ भाद्र १९, बिहिबार  मा प्रकाशित
१९९ पाठक संख्या


काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई आन्तरिक विवादका रूपमा व्याख्या गर्नु गलत भएको बताएका छन्।

उनका अनुसार भण्डारीले संवैधानिक पदमा जाँदा त्यागेको सदस्यता पुनः प्राप्त गर्ने आकांक्षा र पार्टीले गरेको निर्णयबीच मेल नमिल्दा अन्तरविरोध देखिएको मात्र हो।

आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले भने, “विद्यादेवी भण्डारीले राष्ट्रपतिमा निर्वाचित हुनेबित्तिकै नेपालको संविधानअनुसार पार्टी सदस्यता त्याग्नुभएको हो। त्यसैले पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय एमालेभित्रको विवाद होइन, नयाँ नीतिगत अभ्याससँग सम्बन्धित असहमति हो।”

पोखरेलले यो विषयले कालान्तरमा पार्टीलाई मूल्य र पद्धति अनुरूप स्थापित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार राष्ट्रपति संस्थाको अभ्यास नेपालमा पहिलो भएकाले पूर्वराष्ट्रपति पुनः सक्रिय राजनीतिमा फर्कन खोज्दा नौलो जस्तो देखिएको हो।माओवादी केन्द्रले पूर्वउपराष्ट्रपतिलाई संगठनमा सक्रिय भूमिकामा ल्याएको प्रसङ्गमा उनले माओवादीलाई “राजनीतिक शिकारु” भन्दै त्यसले देशको राजनीतिक नेतृत्व गर्न नसक्ने दाबी गरे।

“नेपालको प्रजातान्त्रिक प्रणालीमा नेकपा (एमाले) र नेपाली कांग्रेसले गर्ने निर्णयले नै अर्थ राख्छ,” उनले भने, “एमालेले संवैधानिक व्यवस्थाअनुसार नयाँ मूल्य स्थापित गर्ने निर्णय गरेको हो। त्यसकै बुझाइमा फरकपन देखिँदा सामान्य असहमति प्रकट भएको हो।”

महासचिव पोखरेलका अनुसार पार्टीले लिएको निर्णयबारे स्थायी कमिटी र केन्द्रीय कमिटीमा फरक मत राखिएका भए पनि अन्तिम फैसला विधान महाधिवेशनले गर्नेछ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban