

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। पार्टीको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता, सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर असर पारेको बताइएको छ।
विज्ञप्तिमा सामाजिक सञ्जाल आजको युगमा विचार-अभिव्यक्ति, व्यवसाय, शिक्षा र अनुसन्धानको प्रमुख माध्यम भएकाले यसलाई बन्द गर्नु नागरिक अधिकारमाथि प्रत्यक्ष प्रहार भएको उल्लेख छ। संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार खोस्ने सरकारको कदम लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै रास्वपाले कडा आपत्ति जनाएको छ।





Write your Comment