एमालेको दोस्रो विधान महाधिवेशन आज पनि जारी, प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत हुँदै

रातोघर

 २०८२ भाद्र २२, आईतबार  मा प्रकाशित
१८९ पाठक संख्या


काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज पनि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी छ। तेस्रो दिनको बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि आएका सुझाव प्रस्तुत हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बन्दसत्र बिहान ८ बजेबाट सुरु हुनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेतासहित उपत्यका विशेष प्रदेश, जनसङ्गठन, सम्पर्क समन्वय समिति, प्रवास, केन्द्रीय निकाय तथा विभागीय संरचनाका प्रतिनिधिले प्रतिवेदनमाथि सुझाव दिने कार्यक्रम रहेको छ।सुझाव प्रस्तुत भइसकेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। कुनै विषयमा सहमति नजुटेमा मतदानमार्फत टुंगो लगाइने र अन्तिममा एकीकृत पार्टी विधान पारित गरिने गौतमले बताए।

आजै महाधिवेशनले समसामयिक प्रस्ताव पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूचीसमेत छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरका २ हजार २६ प्रतिनिधि र ३१५ आयोजकसहित २ हजार ३४१ जनाको सहभागिता रहेको छ। महाधिवेशन आज सकिने तालिका छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban