

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले पार्टीभित्रका कतिपय नेता–कार्यकर्ताको जीवनशैली र आचरणमाथि गम्भीर प्रश्न उठाएको छ। आयोगका अध्यक्ष केशव बडालले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा व्यक्तिगत लाभ र अवसरप्रतिको अत्यधिक आशक्ति लोकतान्त्रिक मूल्य र सार्वजनिक हितको विपरीत भएको उल्लेख छ।
प्रतिवेदनमा यस्ता प्रवृत्तिले अन्ततः राज्य, समाज र पार्टीसमेत प्रभावित हुने चेतावनी दिइएको छ। “अनुचित लाभप्रतिको मोहका कारण आम जनतामा नेताहरूप्रति नकारात्मक धारणा बढ्दै गएको छ, जसले उनीहरूको सार्वजनिक जीवन विवादित बनाइरहेको छ,” प्रतिवेदनमा भनिएको छ।
आयोगले सार्वजनिक जीवनप्रति आकर्षण र ग्ल्यामरका कारण कतिपय नेताहरू खर्चालु जीवनशैलीमा फसेको समेत उल्लेख गरेको छ। साथै विचार र आचरणमा समस्या, सांगठानिक अराजकता तथा व्यक्तिगत स्वार्थ अपूरा हुँदा उत्पन्न कुण्ठा पार्टीभित्रका चुनौतीका रूपमा रहेको प्रतिवेदनले औंल्याएको छ।





Write your Comment