

काठमाडौं । नेपाली कांग्रेसले सरकारद्वारा सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे छलफल गर्ने निर्णय गरेको छ। आइतबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले उक्त निर्णयप्रति असन्तुष्टि जनाएपछि छलफल गर्ने निष्कर्ष निकालिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन्।
उनका अनुसार सामाजिक सञ्जाललाई आवश्यक भए नियमन गर्न सकिने भए पनि पूर्ण रूपमा बन्द गर्ने निर्णय उचित हुँदैन। बैठकले मनाङ–१(२) प्रदेशसभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, कांग्रेस नेता अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल निष्क्रिय भएपछि आम नागरिकमा असन्तोष बढेको भन्दै यसबारे सरकारसँग कुराकानी हुने बताए। “सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्छ, हामी त्यही ढंगले कुरा उठाउँछौं,” उनले भने।
केसीले संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे कुनै छलफल नगरी सदनमा प्रस्तुत गर्नु उचित नभएको टिप्पणी पनि गरेका छन्।





Write your Comment